चीनमा क्यानाडेलीलाई सुनाइएको मृत्युदण्डले दुई देशबीच तिक्तता बढायो

तस्बिर स्रोत, Getty Images
चीनमा मृत्युदण्डको सजाय सुनाइएका क्यानाडेली नागरिकको परिवारले आफूहरूको सबैभन्दा भयानक त्रास अब सत्यमा परिणत भएको प्रतिक्रिया दिएका छन्।
रोबर्ट ल्योड शेलेन्बर्गलाई गत नोभेम्बरमा १५ वर्षको कैद सजाय सुनाइएको थियो। तर सोमवार एउटा अदालतले उनलाई लागुऔषध ओसारपसारको मुद्दामा दिइएको सजाय निकै कम भएको बताएको छ।
पछिल्लो फैसलाले दुई देशबीचको सम्बन्ध थप बिगार्ने सम्भावना बढेको छ।
"यो एकदमै डरलाग्दो, दुर्भाग्यपूर्ण र दु:खद स्थिति हो," शेलेन्बर्गकी काकी लोरी नेल्सन-जोन्सले बीबीसीलाई एक इमेलमा भनिन्।
"अहिले हाम्रो सबैभन्दा ठूलो डर सत्यजस्तो हुन पुगेको छ। उसलाई अहिले कस्तो महसुस भइरहेको होला र उसले के के सोच्दै होला त्यो कल्पना गर्न पनि मुस्किल छ।"
क्यानडा सरकारको प्रतिक्रिया के छ?
क्यानडाका प्रधानमन्त्रीले जस्टिन ट्रुडोले पनि पछिल्लो फैसलाको भर्त्सना गरेका छन्।
"चीनले मनलागी ढङ्गले मृत्युदण्डको सजाय सुनाइरहेको विषयप्रति हाम्रो सरकार गम्भीर रूपमा चिन्तित भइरहेको छ। यो प्रवृत्ति हाम्रा अन्तर्राष्ट्रिय मित्र तथा मित्रशक्तिहरूको लागि पनि चिन्ताको विषय हुनुपर्दछ।
पछिल्लो फैसलाको पुनरावेदन गर्नका लागि शेलेन्बर्गसँग १० दिनको समय रहेको उनका वकिलले रोएटर्स समाचार संस्थालाई बताएका छन्।
अमेरिकी अनुरोधपछि चिनियाँ टेलिकम कम्पनी ह्वावेकी वरिष्ठ अधिकारी क्यानडामा पक्राउ गरिएलगत्तै शेलेन्बर्गको मुद्दालाई चीनमा अनपेक्षित रूपमा पुनरावलोकन गरिएको हो।
तनाव कसरी बढ्यो?
ह्वावे कम्पनीका संस्थापककी छोरी मङ्ग वान्जू पक्राउ परेलगत्तै चीनले अन्य दुई क्यानाडेली नागरिकहरू पक्राउ गरेको थियो।
पूर्व कूटनीतिज्ञ माइकल कोभ्रिग र व्यापारी माइकल स्पेभरविरुद्ध चीनको राष्ट्रिय सुरक्षामा आघात पुर्याएको आरोप लगाइएको छ।
चीनले उनीहरू पक्राउ पर्नुको क्यानडामा मङ्ग पक्राउ गरिएको घटनासँग कुनै सम्बन्ध नरहेको बताए पनि थुप्रै विश्लेषकहरूले त्यो कदम बदला लिने क्रममा चालिएको मानेका छन्।
शेलेन्बर्गको सुनुवाइ कसरी गरियो?

तस्बिर स्रोत, Getty Images
चीनले शेलेन्बर्गको मुद्दालाई अन्तर्राष्ट्रिय रूपमा चर्चित तुल्याउन निकै मेहेनत गरेको देखियो। बेइजिङस्थित बीबीसी सम्वाददाताका अनुसार त्यो उनको मुद्दाको सुनुवाइको समाचार संकलन गर्न अदालतमा विदेशी सम्वाददाताहरू पनि डाकिएको थियो।
क्यानाडेली नागरिकले आफू निर्दोष रहेको बताए पनि एक दिन चलेको सुनुवाइको क्रममा नै अदालतले उनलाई मृत्युदण्ड दिनुपर्ने सजाय सुनायो।
चीनको राष्ट्रवादी सरकार समर्थित ग्लोबल टाइम्स पत्रिकाले आफ्नो सम्पादकीयमा पश्चिमा सञ्चारमाध्यमले "अनुचित अनुमान" गर्दै मेङ्गको मुद्दालाई यो मुद्दासँग जोडेर "खरो ढङ्गले चिनियाँ कानुनको अवहेलना" गरेको उल्लेख गरेको छ।
त्यसमा लेखिएको छ, "यो मुद्दाले चीन आफ्नो कानुन कार्यान्वयन गर्ने मामिलामा कुनै पनि बाह्य दबाबसामु नझुक्ने कुरा पनि प्रष्ट पारेको छ।"
शेलेन्बर्गको दोष के हो?
३६ वर्ष भएको विश्वास गरिएका शेलेनवर्गलाई सन् २०१४ मा चीनबाट २ सय २७ केजी मेथाम्फिटामाइन नामक लागुपदार्थ अस्ट्रेलिया ओसारपसार गर्ने योजना बनाएको भन्ने आरोपमा समातिएका थिए।
उनलाई गत नोभेम्बरमा १५ वर्षको जेल सजाय सुनाइएको थियो। तर पुरावेदनपछि उत्तर पूर्वी शहर डालियानको उच्च अदालतले सोमबार उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।
उनको नाममा भएका सबै सम्पत्ति जफत गर्ने फैसला पनि अदालतले गरेको छ।
एएफपी समाचार संस्थाका अनुसार अदालतले पछिल्लो फैसला सुनाउनपूर्व शेलेन्बर्गले भनेका थिए, "म लागुऔषध तस्कर होइन। म पर्यटकको रूपमा चीन आएको थिएँ।"

तस्बिर स्रोत, EPA
मङ्ग वान्जूको मुद्दा के थियो?
उनी भ्यान्कुभरमा डिसेम्बर १ का दिन समातिएकी थिइन्। तर क्यानडाको अदालतले उनलाई केही दिनपछि धरौटीमा छाडेको थियो।
क्यानडाको पश्चिमी शहरका एक न्यायाधीशले उनीमाथि चौबीसै घण्टा निगरानीमा राखिने र उनले विद्युतीय उपकरण भिर्नैपर्ने निर्णय गरेका थिए।
उनीविरुद्ध प्रतिबन्धहरूको बेवास्ता गर्दै इरानलाई टेलिकम सामान बेच्ने एक कम्पनीसँगको सम्बन्ध ढाकछोप गरेको आरोप लगाइएको छ।
उनले ती आरोपहरू अस्वीकार गर्दै आएकी छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध थप खस्कन नदिन आफूले ह्वावेकी वित्तीय कार्यकारी मङ्ग वान्जूको मुद्दामा हस्तक्षेप गर्न सक्ने संकेत दिइसकेका छन्।








