तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सीमा पर्खाल विवादले बढायो ट्रम्पको मुस्किल
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोको सिमानामा पर्खाल बनाउने आफ्नो योजनामा डेमोक्र्याटिक पार्टीले समर्थन नगरे "निकै लामो समयसम्म" सरकारी खर्च बन्द गरिदिने चेतावनी दिएका छन्।
शुक्रवार अमेरिकी संसदको तल्लो सदनमा सरकारी खर्च सम्बन्धी विधेयकहरू पारित नभएपछि अब केही घन्टा पछि अमेरिकी संघीय निकाय खर्चविहीन हुँदैछन्। विपक्षी दलले उनको योजनाको कडा आलोचना गरिरहेको छ।
मेक्सिकोसँगको अमेरिकाको सिमानामा पर्खाल लगाउन ट्रम्पले झण्डै ६ अर्ब डलरको माग गरिरहेका छन्।
अवरोध किन?
त्यो प्रस्ताव अमेरिकी प्रतिनिधिसभाबाट पारित भइसकेको छ। तर माथिल्लो सदन सिनेटले त्यसलाई अस्वीकार गर्ने अपेक्षा गरिएको छ।
अमेरिकाका विभिन्न सरकारी निकाय खर्चविहीन हुने अवस्थाबाट जोगिन वासिङ्टनको समय अनुसार मध्यराति सम्ममा खर्च विधेयकहरू संसदबाट पारित हुनु पर्ने थियो।
तर त्यसो हुन नसकेपछि विपक्षी नेताहरूले ट्रम्पको आलोचना गरेका छन्।
वरिष्ठ डेमोक्र्याट सिनेटर चक शुमरले भने, "राष्ट्रपति ट्रम्पको आवेग र रिसले देशलाई क्रिसमसको बेला सरकारी खर्च नै बन्द गर्ने स्थितितर्फ धकेलिरहेको छ।
"सिनेटमा मेक्सिकोको सिमानामा पर्खाल बनाउने पक्षमा मत छैन। राष्ट्रपति ट्रम्प तपाईँले सिमानामा पर्खाल पाउनु हुन्न।"
प्रभाव कस्तो पर्दैछ?
सरकारी खर्च बन्द हुने स्थितिको नकारात्मक असर अमेरिकी शेयर बजारमा पनि परेको छ। त्यो शुक्रवार निकै तल्लो बिन्दुमा झरेको थियो।
राजनीतिक विवादका कारण लगानीकर्ताहरू समेत चिन्तित बनेका छन्।
क्रिसमसको मुखमा खर्च बन्दीका कारण अमेरिकाभरका करिब १० लाख संघीय कर्मचारीहरू प्रभावित हुने ठानिएको छ।