तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'सौतेनी आमा भएर के भो, मातृ वात्सल्यमा छैन कमी'
- Author, मतिना त्वानाबासु
- Role, सम्वाददाता, बीबीसी नेपाली सेवा
नेपाली समाजमा सौतेनी आमाप्रति सकारात्मक धारणा पाइँदैन।
विभिन्न कारणले बुवाको अर्को विवाहपछि भित्रिने महिलाको डर छोराछोरीलाई मात्र नभइ परिवारका अन्य सदस्यलाई पनि हुने गर्छ।
तर भक्तपुरकी नानीमाया सुवाल हाम्रो समाजमा सौतेनी आमाबारे स्थापित मान्यताभन्दा फरक छिन्।
५ वर्षअघि हुर्किइसकेका ४ छोरा र एकजना छोरीकी सौतेनी आमा बन्न पुगेकी उनले घरमात्र होइन सबैको मन पनि सम्हालेकी छन्।
अभाव पूर्ति गर्ने प्रयास
नानीमाया ४ छोरा १ छोरीकी सौतेनी आमा हुन्।
छोरी र ठूला दुई छोरा विवाहित छन् भने साना दुई अविवाहित।
साइँलो छोरा विदेशमा काम गर्छन्।
कान्छो भने इन्जिनियर हुन्- काठमाण्डूमा काम गर्छन् र नानीमायासँगै बस्छन्।
छोराबुहारी तथा नातिहरू चाडबाड र बेलामौकामा घर आइरहन्छन्।
२० वर्षदेखि आमा विना बाँचिरहेका उनीहरूलाई हरेक दिन आमाको अभाव पूर्ति गर्ने प्रयास गरिरहेको उनी सुनाउँछिन्।
उनी भन्छिन्, "छोरीको घरमा होस् वा बुहारीहरूको माइतीमा, गर्न पर्ने ठाउँमा सबै व्यवहार गरिरहेकी छु। एक जना आमाले गर्नुपर्ने सबै व्यवहार गरिरहेकी छु। त्यही भएर पनि सबैजनाले माया गर्छन्। सबैको राम्रै भएको छ।"
उस्तै दुख
उमेरले ४० नाघेकी नानीमायाका श्रीमान् नारायण सुवाल अवकाशप्राप्त सरकारी कर्मचारी हुन्।
उनीहरूबीच करीब २० वर्षको अन्तर छ। उनीहरू दुबैले दोस्रो विवाह गरेका हुन्।
नानीमायाको पहिलो विवाह उनी २० वर्ष छँदा भएको थियो।
एक जना छोरा जन्मिएपछि जन्डिस रोगको उपचारकै क्रममा उनका श्रीमान्को मृत्यु भयो।
विवाह भएको लगभग ६ वर्ष नपुग्दै विधवा भएकी नानीमाया माइती आएर बस्न थालिन्।
सानै उमेरमा आमाबुवा गुमाएकी नानीमाया लुबुस्थित माइतीमा काकाकाकी र बाजेबज्यैसँग हुर्केकी हुन्।
दोस्रो विवाहको कल्पनासम्म पनि गरेकी थिइनन्।
"अरुले उमेर सानै छ दोस्रो विवाह गर्न पर्छ भन्थे। म भने छोराको मुख हेरेर जीवन बिताउँला भन्ने सोच्थेँ। दोस्रो विवाहका लागि कुराहरू आए तर म गर्दिनँ नै भनेर बसेकी थिएँ।"
त्यसो त उनका श्रीमान् नारायण सुवालले पनि दोस्रो विवाहबारे सोचेका पनि थिएनन्।
२५ वर्षअघि अकस्मात श्रीमतीको निधन हुँदा उनका कान्छा छोरा दुई वर्षका मात्र थिए।
अर्को विहे गरे सन्तानको विचल्ली हुन्छ भन्ने डरले उनले दोस्रो विहे गर्ने आँट गरेनन्।
"दोस्रो विवाह गरेका साथीभाइ आफन्तमध्ये धेरैको परिवार विखण्डन भएको देखेको छु। बालबच्चाको विचल्ली नै भएको देखेको छु। परिवारमा किचलोबाहेक अरु दखिनँ। त्यही देखेको सुनेको भएर मैले २० वर्षसम्म त आँट गर्नै सकिनँ। एक जना जिम्मेवार महिला नहुँदा घर व्यवहार चलाउन कति मुस्किल हुन्छ भन्ने त मैले भोगेको छु। त्यसकै लागि पनि दोस्रो विवाह गरेँ।"
दोस्रो विहेको कठिन निर्णय
एक जना साथीको मद्दतले भेटेका नानीमाया र नारायणले एक अर्कासँग भेटेर आफ्ना दुखसुख साटेपछि भने दुवैको दोस्रो विवाह नगर्ने निर्णय बदलियो।
नानीमायालाई विवाह गर्न पर्छ भन्ने धेरै थिए।
नारायणलाई भने हुँदैन भन्ने धेरै थिए।
आफ्नै सन्तानले पनि उनको निर्णयमा समर्थन जनाएनन्। नानीमायमालाई बिहे गर्छु भन्ने बचन दिइसकेका उनले थोरैको समर्थनकाबीच विवाह गरे।
"पहिलोपटक उहाँलाई भेट्दा र कुराकानी गर्दा उहाँले मेरो परिवार सम्हाल्न सक्नुहुन्छ भन्ने लाग्यो। धेरै नबोल्ने र दुईचार पटकको भेटमा उहाँसँगको व्यवहार पछि मैले सही मान्छे भेट्टाएँ भन्ने लागेर बिहे गरेँ। श्रीमती गुमाएपछिको २० वर्ष मैले हरेक दिन एक्लो महसुस गरी विताएँ। अहिले भने त्यो लामो अवधिमा छुटेका साथहरू र टुटेका सम्बन्धहरू जोड्न सकियो भन्ने लाग्छ।"
आमा चिन्न नपाउँदै आमा गुमाएका उनीहरूका कान्छा छोरा सिलन सुवाल पनि अरु दाजु र दिदीजस्तै बुवाको दोस्रो विहेसँग खुशी थिएनन्। सुरक्षित महसुस गरेनन्।
सुरुसुरुमा केही असजिलो जस्तो भए पनि सिलनलाई अहिले आफ्नै आमासँग बसेको जस्तो लाग्छ।
उनले भने, "उहाँले सबै कुरा मिलाइदिनु हुन्छ। निकै माया पनि गर्नुहुन्छ। भाग्यले त्यस्तो आमा पाएँ जस्तो लाग्छ।"
भर्खरै सबै छोराहरूसँग मिलेर सामुहिक लगानीमा एउटा घर बनाएका नारायण खेती किसानी पनि गर्छन्।
नानीमाया उनको हरेक काममा साथ दिन्छिन्।
पाहुना सत्कारदेखि विभिन्न अवसरमा आफन्तकहाँ व्यवहार गर्नदेखि फुर्सदमा टोपी पन्जा बुन्न समेत भ्याउँछिन्।
आफ्नो मात्र होइन आफ्नो श्रीमान्को पहिलो श्रीमतीको माइतीमा पनि उनको आउजाउ र व्यवहार बाक्लो छ।
उनको चिन्ता, उनले भोगेको एक्लोपन र दुख सुनेपछि उनीसँग दोस्रो विवाहको लागि राजी भएको नानीमायाले बताइन्।
"बाहिरबाट आएपछि एक कप चिया खाने भनेर सोध्ने नि कोही छैन, चाहेर पनि व्यवहार धान्न सकिएन भन्ने कुराहरू सुनेपछि नाइँ भन्न सकिनँ।"
छवि बदल्ने व्यवहार
नेपाली समाजमा व्याप्त सौतेनी आमाको छविसँग परिचित छिन्, नानीमाया।
यहाँ नराम्रो व्यवहार गर्नेको जति चियोचर्चा हुन्छ राम्रो गर्नेको विरलै चर्चा हुन्छ।
त्यसै कारण उनी कसैका कुरा सुन्दिनन् र आफैँ पनि अनावश्यक टिका टिप्पणी गर्दिनन्।
उनी भन्छिन्, "मलाई अरुका कुरा सुन्न मन लाग्दैन। आफ्नो कुरा पनि सुनाउँदै हिँड्दिनँ। कसैले यसो गर उसो गर भनेर सिकाउन खोजे पनि म आफैँले विचार गरेर व्यवहार गर्छु।"
कोही बाध्यताले त कोही आवश्यकताले सौतेनी आमा बन्ने गर्छन्।
नानीमाया भन्छिन्, कसैको सौतेनी आमा भएर गएपछि सानीआमा होइन आमा भएर सोच्नु पर्छ।
त्यसपछि छोराछोरीले पनि आमा सरह मानसम्मान दिने र सबैको नजरमा सौतेनी आमाको छवि बद्लिने नानीमाया बताउँछिन्।