वैदेशिक रोजगारीमा नेपाली: गर्भ बोकेर फर्किँदा घरबार बिग्रिँदै

    • Author, उमाकान्त खनाल
    • Role, सम्वाददाता, बीबीसी न्यूज नेपाली

धेरै कमाएर ल्याउने सपना देखेर देखेर ३२ वर्षीया गीता (नाम परिवर्तन) एक वर्षअघि जोर्डन गएकी थिइन्।

गीताका पतिले नै दुई छोराछोरीकी आमा बनिसकेकी उनलाई परिवारमा सुख आउँछ भनेर विदेश जान प्रेरित गरेका थिए।

तर उनीहरूको सपना भने एउटा घटनाले भताभुङ्ग पारिदियो।

गीताका अनुसार एक दिन कामबाट बस्ने ठाउँ फर्किँदा उनको बलात्कार भयो। उनले आफू बलात्कृत भएको घटना आफ्ना पतिलाई सुनाइन्। सहानुभूति देखाउँदै उनले घर फिर्ता बोलाए पनि।

आफू काम गर्ने कम्पनीका मान्छेले टिकट काटेर उनलाई नेपाल फर्काइदिए, तर घर आएपछि उनले अर्को वज्रपात सहनुपर्‍यो।

अर्काको गर्भ बोकेको भन्दै उनलाई घरबाट निकालियो।

उनी भन्छिन्, "मैले सबै कुरा मेरो पतिलाई भनेकी थिएँ, उहाँले बोलाउनु पनि भयो। म आएँ, तर आज मेरो यो हाल भयो।"

यस्तो दु:ख खेप्ने गीता एउटी प्रतिनिधिपात्र हुन्।

रोजगारीको निम्ति विदेश गएका धेरै महिलाले गीताले जस्तै अकल्पनीय पीडा भोग्नु परेको छ।

उनीहरू आफ्नै घरबाट निकालिएका वा परिवारबाटै बहिष्कृत भएका छन्।

सङ्घर्ष

अर्काको गर्भ बोकेर विदेशबाट नेपाल फर्केका महिलाले आफू समाजमा पुनः स्थापित हुन निकै ठूलो सङ्घर्ष गर्नुपर्ने अवस्था छ।

पूर्वी नेपालको एउटा गाउँबाट वैदैशिक रोजगारीका लागि गएकी अर्की महिला झन्डै चार वर्षअघि बलात्कारपछि धारण गरेको गर्भ लिएर फर्किन्।

परिवारले त्यागिदिएपछि उनलाई एउटा गैरसरकारी संस्था शक्ति समूहले उद्धार गरेर बस्नेखाने व्यवस्था मिलाइदियो।

पछि उनले अस्पतालमा बच्चा जन्माइन् र उनको बच्चा अर्कैलाई पाल्न दिइयो।

त्यतिबेला शक्ति समूहमा काम गर्ने महिला अभियानकर्मी मीरा भट्टराईका अनुसार अहिले उनको बच्चा पढिरहेको छ भने उनले अर्को विवाह गरेकी छन्।

हिंसाबाट पीडित महिला तथा मानव बेचविखनको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था माइती नेपालका अनुसार यस्ता घटना अन्य हिंसाका घटनाका भन्दा थोरै मात्र बाहिर आउने भए पनि यो अत्यन्तै हृदयविदारक अवस्थामा छ।

सङ्ख्या स्पष्ट छैन

माइती नेपालका अनुसार सन् २०१७ र २०१८ मा एक/ एक जना त्यस्ता गर्भवती महिला नेपाल फर्किएका थिए।

तर अन्य संस्थाको सम्प्रकमा अरू महिला पुगेको हुनसक्ने अनुमान माइती नेपालका कार्यवाहक अध्यक्ष विश्वराम खड्काको छ।

तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग त्यस्ता महिलाका बारेमा कुनै सूचना नभएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीको भनाइ छ।

उनले भने, "हामीसँग त्यस्ता कुनै महिला अहिलेसम्म मलाई यस्तो भयो भनेर आएका छैनन्।"

रोजगारीको निम्ति विदेश गएका कैयौँ महिलाहरू गर्भवती भएर नेपाल फर्किने घटना बढ्दैजाँदा त्यसले जटिल समस्या निम्त्याउन थालेको देखिएको छ।

त्यस्ता महिलाहरू परिवारबाट पनि बहिष्कृत हुने गरेका छन् भने समाजमा पुनः स्थापित हुन उनीहरूले निकै ठूलो सङ्घर्ष गर्नुपर्ने अवस्था छ।

महिलाका क्षेत्रमा काम गर्ने संस्थाका अनुसार अहिलेसम्म देखिएका घटनामा केही महिला बलात्कारमा परेर गर्भवती भएका हुन् भने केहीले मिलेमतोमै सम्बन्ध राखेका भए पनि अनिच्छित गर्भधारण गर्न पुगेका हुन्।

'मर्नु न बाँच्नु'

गीताका बुवा आफ्नी छोरीको अवस्था थाहा पाउँदा आफू किंकर्तव्यविमूढ भएको बताउँछन्।

उनी भन्छन्, "मलाई छोरीको घरमा पूजा छ भनेर बोलाइयो। तर जब म पुगेँ, त्यहाँ पूजाको केही पनि तयारी थिएन, छोरी आएकी रहिछे।"

तर गीताले आठ महिनाको गर्भ बोकेर आएको बताइएपछि आफू त्यहीँ भ्वाक्कै लडेको उनी सुनाउँछन्।

उनी भन्छन्, "मैले छोरी लान्छु भन्न पनि सकिनँ, लान्न भन्न पनि सकिनँ।"

ज्वाइँले छोरी नराख्ने भनेपछि उनले नै गीतालाई आफूसँग लगे।

पछि बिर्तामोडको एउटा अस्पतालमा बच्चा जन्माएर उनले कसैलाई जिम्मा लगाइन्।

माइतीको आश्रयमा बसेकी उनी अहिले पतिसँग अंशमुद्दा लडिरहेकी छन्।

खाडी र मध्यपूर्वमा समस्या

अहिलेसम्म जानकारीमा आएका यस्ता घटनामा परेका अधिकांश महिला खाडी र मध्यपूर्वबाट फर्केका हुन्।

खाडी मुलुकबाट फर्केकाहरूका अनुसार त्यहाँ महिलाहरूको यौन शोषण हुने गरेको छ। तर सङ्कोच र डरधाकका कारण उनीहरू बोल्न र प्रतिकार गर्न भने सक्दैनन्।

शारीरिक एवम् उत्पीडन खप्न नसकेर केही महिलाले आत्महत्या गरेको समाचार पनि आउने गरेको छ।

माइती नेपालका कार्यवाहक अध्यक्ष विश्वराम खड्काले भने, "खाडी देशमा गर्भपतनलाई कानुनी मान्यता नदिइएकाले नेपाली चेलीहरूलाई त्यत्तिकै नेपाल फर्काइन्थ्यो।"

"अहिले लुकीछिपी गर्भपतन गराउने चलन छ भन्ने सुनिन्छ। तर विदेशमा गर्भ बोकेर नेपाल आउने नेपाली चेलीहरूको सङ्ख्या बढ्दो छ।"

सङ्ख्या बढेको भनिए पनि तथ्याङ्क भने कसैसँग छैन।