तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुबईबाट ४४ नेपाली महिला फिर्ता
विना भिसा संयुक्त अरब इमिरेट्स (युएइ) को दुबई विमानस्थल पुर्याइएका ४४ जना नेपाली महिलालाई त्यहाँको अध्यागमन विभागले काठमाण्डू फर्काइदिएको एकजना नेपाली अधिकारीले बताएका छन्।
ती महिलाहरुलाई कुवेत लैजाने भनेर भारतको दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई विमानस्थल पुर्याइएको जानकारी पाएको अध्यागमन विभागका महानिर्देशकले बीबीसीलाई बताए।
गम्भीर प्रकृतिको घटना भएको भन्दै आवश्यक अनुसन्धानका लागि छलफल भइरहेको विभागले बताएको छ।
संसद्को श्रम तथा वैदेशिक समितिले वैदेशिक रोजगारीका नाममा नेपालबाट संगठित रुपमा मानव तस्करी गर्न थालिएको निष्कर्ष निकालेको दुई महिना पनि नबित्दै पछिल्लो घटना प्रकाशमा आएको हो।
स्थल नाका
अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालका अनुसार दुबई विमानस्थलबाट फिर्ता पठाइएका ४४ जना नेपाली महिला मंगलबार र बुधबार गरी काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
तीमध्ये मंगलबार १२ जना, बुधबार एकपटक १३ र अर्कोपटक १९ जना काठमाण्डू आइपुगेका हुन्।
महानिर्देशक गेलालका अनुसार भारतसँगको स्थल सीमा नाका हुँदै नेपाली महिलाहरुलाई दिल्ली पुर्याइएको र नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई विमानस्थल पुर्याइएको बुझिएको छ।
उनले भने, "हामीलाई प्राप्त रिपोर्ट अनुसार विना भिसा उहाँहरु दुबई जानुभएको थियो र उहाँहरुलाई कुवेत लग्ने भनेर त्यहाँ पुर्याइएको थियो।"
गेलालका अनुसार दुबईलाई अन्य गन्तव्य पुग्ने ट्रान्जिटको रुपमा प्रयोग गरिएको देखिन्छ।
अफ्रिकी मुलुक केन्या पुग्दा 'अनअराइभल भिसा' अर्थात सीमामा पुग्ने बित्तिकै प्रवेशाज्ञा पाउने भएकोले ती महिलाहरुको भिसामा केन्या जान लागेको लेख्न लगाइ सुनियोजित रुपमा दुबई लगिएको देखिएको गेलालले बताए।
महिला बेचबिखन
उनका अनुसार काठमाण्डू फिर्ता पठाइएका कतिपय महिलाले चार/पाँच महिनासम्म आफूहरुलाई एउटै कोठमा कोचिएर राखिएको बताएका छन्।
काठमाण्डू फिर्ता पठाइएकाहरुलाई महिला बेचबिखनविद्ध काम गर्दै आएको गैरसरकारी संस्था माइती नेपालको संरक्षणमा राखिएको छ।
सो संस्थाका निर्देशक विश्वराम खड्काले भने, "पाँच/सात दिन उहाँहरु विमानस्थलमा बिचल्ली अवस्थामा हुनुहुन्थ्यो। बिरामी हुनुहुन्छ। टाउको दुख्नेदेखि लिएर वाकवाक लाग्ने भएकोले हामीले थप कुरा गरेका छैनौँ।"
पछिल्लो घटनालाई अध्यागमन विभागले गम्भीर रुपमा लिएको विभागका महानिर्देशक गेलालले बताएका छन्।
उनले अनुसन्धानका निम्ति केन्द्रीय अनुसन्धान ब्युरो र माइती नेपालसँग विभागले छलफल गरिरहेको बताए।