तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यो सम्झौता ब्रिटेनको हितमा छः मे
ब्रिटेन युरोपेली संघ (ईयू) बाट बाहिरिन पाँच महिनाभन्दा पनि कम समय बाँकी रहँदा ब्रिटिश प्रधानमन्त्री टरिजा मेले उनको सरकारले इयुसंग गरेको ब्रेक्जिट सम्झौताको मस्यौदाको बचाउ गरेकी छिन्।
बिहीवार दिउँसो झण्डै तीन घन्टा संसद्मा सत्तारुढ तथा विपक्षी सांसदहरूका प्रश्नहरुको जवाफ दिएपछि बेलुका उनले आफ्नै कार्यालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गरिन्।
पत्रकारहरुका प्रश्नहरुको जवाफ दिँदै उनले उनको सरकारले समर्थन जनाएको मस्यौदा ब्रिटेनको हितमा रहेको दावी गरिन्।
यस अघि ब्रिटिश संसद्मा बोल्दै प्रधानमन्त्री मे ले ब्रिटिश जनताले ईयू छाडदा स्वतन्त्र आवागमन बन्द होस्, ब्रिटेन युरोपेली न्यायालयको कार्यक्षेत्रबाट बाहिर रहोस् तथा ईयू छाड्दा कम रकम तिरियोस् भन्ने चाहेको र ती सबै कुरा यो सम्झौताबाट प्राप्त भएको बताएकी थिइन्।
सम्झौता
"मेरो एकमात्रै चाहना भनेको ब्रिटेन र ब्रिटिश जनताको हित सुनिश्चित गर्नु हो," उनले भनिन्।
तर उनकै मन्त्रिपरिषद्का केही सदस्यहरुले सो संझौताको विरोध गर्दै राजीनामा दिइसकेका छन् भने उनीविरुद्ध दलभित्रैबाट अविश्वास प्रस्तावको तयारी भइरहेको बताइएको छ।
एक प्रश्नको जवाफमा उनले त्यस्तो प्रस्ताव आए आफुले त्यसको सामना गर्ने बताइन्।
सत्तारुढ दलभित्र आफ्नो बहुमत रहेको उनले संकेत पनि गरिन्।
राजीनामा
यस अघि ब्रिटेनको ईयूबाट बहिर्गमन अर्थात् ब्रेक्जिट मामिला हेर्ने मन्त्री डोमिनिक राबले ब्रिटेनले तयार पारेको ब्रेक्जिट सम्झौताको मस्यौदालाई आफूले समर्थन गर्न नसक्ने बताउँदै पदबाट राजीनामा दिएका थिए।
डेभिड डेभिसले राजीनामा दिएपछि राब ब्रेक्जिटमन्त्री नियुक्त भएका थिए।
यसैगरी श्रम तथा पेन्सन्स मन्त्री इस्थर म्याक्भे र ब्रेक्जिट मामिला हेर्ने सहायक मन्त्री सुयला ब्रेभरम्यानले पनि आफ्नो पदबाट राजीनामा दिएका छन्।
सो मस्यौदाप्रति असहमति जनाउँदै शैलेश वाराले पनि उत्तरी आयर्ल्यान्डको राज्यमन्त्री पदबाट राजीनामा दिएका छन्।
उनले त्यो सम्झौताले "ब्रिटेनलाई आधा बाटोमा छोड्ने र सार्वभौम राष्ट्र बन्नबाट रोक्ने" टिप्पणी गरेका थिए।