उदयपुरमा शङ्कास्पद स्थितिमा बालिकाको शव

पश्चिम नेपालको कञ्चनपुरमा ११० दिनअघि निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको चर्चा सेलाउन नपाउँदै पूर्वी नेपालको उदयपुरको एउटा गाउँमा एउटी १३ वर्षीया बालिकाको शव शङ्कास्पद अवस्थामा भेटिएको छ।
उनको बलात्कारपछि हत्या भएको आशङ्का रौतामाई गाउँपालिकाको लाफागाउँवासीले व्यक्त गरेका छन्।
ती बालिका शनिवार बाख्रा चराउन वनतिर गएकी थिइन्। तर घर नफर्किएपछि उनको खोजी गर्दा आइतवार दिउँसो उनलाई मृत अवस्थामा भेटिएको थियो।
शव भेटिएको स्थान उनको घरनजिकै रहेको बताइएको छ।
परीक्षण गर्न शव जिल्ला सदरमुकामतर्फ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताएका छन्। घटनास्थल सदरमुकाम गाईघाटबाट झन्डै ७५ किलोमिटर उत्तरमा पर्छ ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गएको टोलीले अनुसन्धान थालेको एसपी राईले बताए।
उनका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शङ्कास्पद देखिएको र शवपरीक्षणपछि मात्र मृत्युको कारण खुल्नेछ।
प्रहरीले केही सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
उता कञ्चनपुरमा निर्मला पन्तका परिवारजनले आइतवारदेखि न्यायको माग गर्दै अनिश्चितकालीन धर्ना थालेका छन्।
निर्मलाको शव भेटिएको १०० दिन कटिसक्दा पनि सो घटनामा को संलग्न थिए भनेर पत्ता नलागेकाले उनीहरूले धर्ना थालेका हुन्।








