कुखुरामा पनि सिण्डिकेट?

    • Author, ईश्वर जोशी
    • Role, सम्वाददाता, बीबीसी न्यूज नेपाली

तिहारको मुखमा चितवनमा कुखुराको मूल्य घटेपछि किसानहरू आन्दोलित भएका छन्।

उपभोक्ताले किन्ने मूल्यमा फरक नभए पनि आफूहरू भने लागत मूल्यभन्दा कममा व्यवसायीलाई कुखुरा बेच्न बाध्य भएको किसानहरूले बताएका छन्।

कुखुरा व्यवसाय वा पोल्ट्रीको राजधानीका रूपमा रहेको चितवनमा एक्कासी कुखुराको मूल्य घटेपछि किसान निराश भएका छन्।

तिहारको मुख मै आएर 'व्यवसायीहरूको सिण्डिकेट'को कारण लागत मूल्यभन्दा कममा कुखुरा विक्री गर्नुपरेको नेपाल कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले बताए।

"सिण्डिकेट लागु भएको कारणले नै हामीले घाटा बेहोर्नुपरेको छ। हरेक पोल्ट्री सम्बन्धित संघसस्था र राज्यसँग हामी भन्न चाहन्छौँ कि वैज्ञानिक तरिकाबाट मूल्य निर्धारण होओस्।"

कुखुराको लागत मूल्य प्रतिकिलो मासु १७५ देखि १८० रुपैयाँ पर्ने गरेको छ। तर व्यवसायीहरूले १३० रुपैयाँमा किसानको खोरबाट लैजाने गरेका छन्," उनले भने।

बजारमा कुखुराको मासुको मूल्यप्रति किलोग्राम ३०० रुपैयाँ को हाराहारीमा रहेपनि ज्युँदो कुखुराको मूल्य १३० रुपैयाँ मात्र रहेको उनले बताए।

चाडबाडको बेला मासुको माग अत्यधिक हुने गर्छ। तर यतिबेला आफूले पाउने मूल्य घट्दा किसानहरू मर्कामा परेको किसान भवानी न्यौपानेले बताइन्।

"किसानहरूको अवस्था दयनीय छ। हामीले दिनरात दु:ख गरेर पालेको कुखुरा लागत मूल्यभन्दा कममा बेच्नुपर्ने अवस्थाले कुखुरा पालेर जीविका गर्न नसकिने भएको छ," न्यौपानेले भनिन्।

निर्धारण

यस्तो अवस्था आउँदा समेत सम्बन्धित निकायको ध्यान जान नसकेको भनाइ किसाहरूको छ।

व्यवसायीहरूले भने हाल कुखुराको उत्पादन बढी भएको कारण मूल्य घटेको बताएका छन्। तर उपभोक्ताहरूले चाहिँ सस्तोमा मासु खान पाएका छैनन्।

किसानले उत्पादन गरेको कुखुराको मूल्य पोल्ट्रीसँग आबद्ध संघसस्था र नेपाल सरकारको प्रतिनिधिको रोहबरमा निर्धारण हुनुपर्ने माग किसानले गरेका छन्।

नेपालमा पोल्ट्री व्यवसायमा ६० अर्ब रुपैयाँ लगानी रहेकोमा चितवनमा मात्र ३२ अर्बको लगानी रहेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तिलचन्द्र भट्टराईले बताए।