तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मानिस र कुकुरको सम्बन्धको इतिहास कति पुरानो
- Author, हेलेन ब्रिग्स
- Role, बीबीसी न्युज
निकै पहिलेका कुकुरहरूबारे उपलब्ध डिएनए परीक्षणले मानिसको साथमा कुकुर रहँदै आएको ९ हजार वर्ष पुगेको देखाएको छ।
मानव जातिका पुर्खाले खेतीकिसानी सुरु गर्ने बेलामै कुकुरहरू मानव इतिहासको अङ्ग बनेका थिए।
सँगसँगै
जब सुरुका मानव किसानहरू मध्यपूर्वबाट भेडा बाख्रा धपाउँदै निस्किए, उनीहरूको साथमा कुकुरपनि साथ लागेको वैज्ञानिकहरूले बताएका छन्।
उक्त डिएनए प्रमाणले पुरानो कालखण्डमा कसरी ब्वाँसा प्रजातिका जनावर आजकल हामीले चिन्ने जस्ता विभिन्न थरीका कुकुरमा विकसित भए भन्ने बताउँछ।
मध्ये पूर्वको फर्टाइल क्रेसेन्ट भनिने उर्बर भूमिक्षेत्रबाट खेतीकिसानी सुरु भयो।
सो क्षेत्र भनेको हालको इराक, सिरिया, लेबनन, जोर्डन, इजरेल र इजिप्ट रहेका क्षेत्र हो।
त्यतिखेरसम्म 'हन्टर ग्यादररु भनिने घुमफिर गर्दै शिकार गरेर पेट पाल्ने चलनमा अभ्यस्त मानवजाति विस्तारै एकै ठाउँमा बस्न थाले।
विस्तारै तिनले गहुँ, जौ, कोसा तथा दालजस्ता बाली लगाउन थाले।
अनि, उनीहरूले जङ्गली भेडा, गाई तथा सुँगुरलाई घरपालुवा बनाउन थाले।
आधुनिक कुकुरको विकास
करिब ९ हजार वर्ष पहिले जब उनीहरू युरोप र एसियातर्फ लागे उनीहरूले आफ्ना जनावर तथा खेतीकिसानीका ज्ञान पनि साथै लगे।
उक्त नयाँ अध्ययनले कुकुरहरूपनि उक्त यात्रामा सामेल भएको देखाएको छ।
युरोप तथा एसियामा फेला परेका कुकुरका हजारौँ वर्ष पुराना अवशेषमा रहेका डिएनएको परीक्षणबाट त्यस्तो पत्ता लागेको हो।
"हाम्रो अध्ययनले के देखाउँछ भने मानव र कुकुरको इतिहास जोडिएका छन्। युरोपभर बसाइँसराइका बेला कुकुरहरू मानिसका पछि लागेको देखिन्छ," फ्रान्सको रेन विश्वविद्यालयका डा मोर्गेन ओलिभियको भनाइ।
ती कुकुरहरू युरोपमा आइपुगेपछि त्यहाँ पहिलेदेखि रहेका कुकुरसँग तिनको संसर्ग भयो। त्यसले जीन पुलमा वा आनुवंशीय परिवर्तन भए।
शताब्दीयौँ सम्म त्यसरी संसर्गहरू भएपछि हालका जस्ता विभिन्न आकार र प्रकारका कुकुरहरूको विकास भएको मानिन्छ।
उक्त अनुसन्धान विवरण 'बायोलोजी लेटर्स' नामक जर्नलमा प्रकाशित छ।