तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टर्की: साउदी पत्रकार बेपत्ता हुनुसँग 'सम्बन्धित' भिडिओ सार्वजनिक
टर्कीका सञ्चारमाध्यमले साउदी पत्रकार जमाल खशोग्गीलाई बेपत्ता पारिएको घटनासँग सम्बन्धित प्रमाण भन्दै सीसीटीभी दृश्य सार्वजनिक गरेका छन्।
इस्तानबुल विमानस्थलका ती दृश्यमा साउदी अरेबियाका सम्भावित गुप्तचरलाई टर्की प्रवेश गरेको र छोडेको देखिन्छ।
पहिला राम्रो सम्बन्ध भएपनि पछि साउदी राजपरिवारको कटु आलोचक बनेका पत्रकार खशोग्गी टर्कीस्थित साउदी वाणिज्य दूतावासबाट गत अक्टोबर २ देखि बेपत्ता भएका बताइको छ।
टर्कीका अधिकारीहरूले खशोग्गीको हत्या भएको बताएका छन्। तर साउदी अरेबियाले त्यसको खण्डन गरेको छ।
भिडिओमा के छ?
सुरक्षा निगरानीका लागि राखिएको एउटा क्यामेराबाट खिचिएकोजस्तो देखिने एउटा भिडिओ टर्कीको टीआरटी वर्ल्ड च्यानलले प्रसारित गरेको छ।
त्यस भिडिओमा काला भ्यानसमेत केही गाडीहरू साउदी वाणिज्य दूतावाससम्म गएको देखिन्छ। यिनै दृश्य अनुसन्धानको केन्द्रविन्दुमा रहने विश्वास गरिएको छ।
साथै साउदी पुरुषका विभिन्न समूहहरू इस्तानबुल विमानस्थल हुँदै टर्की आएर होटेलमा प्रवेश गरेका र पछि देश छोडेका दृश्य पनि छन्।
विमानस्थलको धावनमार्गमा विशेष साउदी विमानहरू पनि देखिन्छन्।
टर्कीकी एउटी महिलासँग बिहेको छिनोफानो गरेका खशोग्गी आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावासमा गएका थिए।
उनीभित्र प्रवेश गरेपछि ती टर्कीकी महिला भने बाहिर नै कुरेर बसेकी थिइन्।
टर्कीको एउटा समाचारपत्रिकाका अनुसार उसले खशोगी बेपत्ता भएको घटनामा संलग्न गुप्तचरहरूको एउटा टोलीका १५ जना को हुन् भनेर पत्ता लगाएको छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया कस्तो छ?
यूकेका विदेशमन्त्रीले पत्रकार खशोग्गी बेपत्ता भएको घटनाबारे ब्रिटेनले तत्काल उत्तर चाहेको साउदी अरेबियालाई बताएका छन्।
आफ्ना साउदी समकक्षीसँग जेरमी हन्टले 'मित्रता समान मूल्य र मान्यता'मा भर पर्ने भनेर चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खशोगीका बारे आफूले साउदी अधिकारीहरूसँग कुरा नगरेको मङ्गलवार जनाएका थिए।
सम्वाददाताहरूसँग कुरा गर्दै उनले भनेका थिए, "तर म कुनै बेला कुरा गर्छु।"
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले साउदी अरेबियालाई सो घटनाबारे विस्तृत अनुसन्धान गर्न सघाउन र त्यसको नतिजामा पारदर्शी हुन आग्रह गरेका थिए।
संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूले तत्कालै 'स्वतन्त्र र अन्तर्राष्ट्रिय अनुसन्धान' गर्नुपर्ने माग राखेका छन्।
गत हप्ता साउदी युवराज मोहम्मदले ब्लूम्बर्ग न्यूजलाई आफ्नो सरकार खशोग्गीसँग के भएको हो त्यो जान्न इच्छुक भएको बताएका थिए।
खशोग्गी एक घण्टाभित्रै साउदी दूतावासबाट बाहिर निस्किएको उनको दाबी थियो।
युवराज मोहम्मदका भाइ तथा अमेरिकाका लागि साउदी राजदूत राजकुमार खालेद बिन सलमान अलसाउदले खशोगीलाई बेपत्ता पारिएको वा उनको मृत्यु भएको भन्नेबारेका विवरणहरू आधारहीन र पूर्णत: असत्य रहेको दाबी गरेका छन्।
के भन्छिन् खशोगीसँग विवाह गर्न लागेकी महिला?
हाथिजे जेङ्गिजले वाशिङ्टन पोस्टमा एउटा भावुक लेखमार्फत् अमेरिकालाई सहयोग गर्न आग्रह गरेकी छन्।
"राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई जमाल बेपत्ता भएको घटनाबारे छर्लङ्ग पार्न सहयोगका लागि म आग्रह गर्छु," उनले लेखेकी छन्।
विवाह र भावी जीवनको योजना बनाउँदै गर्दा उनी बेपत्ता भएका भन्दै उनले जमाल उदाहरणीय विचारक र आदर्शका लागि सङ्घर्ष गर्ने साहसी व्यक्ति भएको जनाएकी छन्।
"यदि उनी टर्कीमा अपहृत भएका वा मारिएका हुन् भने कसरी बाँच्छु भन्ने मलाई थाहा छैन।"
टर्कीले इस्तानबुलस्थित साउदी दूतावासमा खानतलासी गर्ने जनाएको छ।
अङ्काराले खशोग्गी सो दूतावासबाहिर गएको साउदी दाबी पुष्टि गर्ने प्रमाण मागेको छ।
तर त्यहाँ उनको हत्या भएको भन्ने दाबी गर्दा कुनै आधारहरू टर्कीले दिएको छैन।
को हुन् जमाल खशोगी?
केही वर्षअघि खशोग्गी साउदी राजपरिवारका सल्लाहकार थिए। कैयौँ वर्षसम्म उनलाई राजपरिवारका भित्री मानिसका रूपमा हेर्ने गरिन्थ्यो।
पछि उनी साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानका नीतिहरूको कटु आलोचक बने।
आफूसँग सम्बन्ध भएका मानिस र साथीहरू पक्राउ परेपछि उनी अमेरिका निर्वासनमा गए। उनी वाशिङ्टन पोस्टका लागि विचारमूलक लेखहरू लेख्थे।
खशोग्गी अल वतन समाचारपत्रका पूर्वसम्पादक थिए। उनले छोटो समय चलेको समाचार च्यानल साउदी टीभीमा पनि काम गरेका थिए।