नोभिचोक हमलामा रुसी गुप्तचर संलग्न भएको आरोप

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले भूतपूर्व रुसी गुप्तचर सेर्गेई स्क्रिपाल र उनकी छोरी युलियामाथि हत्याको प्रयास दुई आरोपित रुसी सैन्य गुप्तचर अधिकारीहरूले गरेको आरोप लगाएकी छन्।

संसद्‌मा बोल्दै उनले उक्त हत्या प्रयास पक्कै पनि रुसी सरकारको उच्च तहबाटै गराइएको बताइन्।

उनले रुसी जासुसी निकाय जीआरयूमाथि सामूहिक कारबाहीको आह्वान गरेकी छन्।

स्कट्ल्यान्ड यार्ड तथा ब्रिटिश अभियोजनकर्ता निकाय क्राउन प्रोसिक्युशन सर्भिस सीपीएसका अनुसार सोल्ज्बरीमा भएको आक्रमणलाई लिएर एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफमाथि अभियोग लगाउनका लागि उनीहरुसँग पर्याप्त प्रमाण छन्।

ती आरोपितहरुले अन्य नाम प्रयोग गरेको हुनसक्ने ठानिएको छ।

उनीहरू लगभग ४० वर्षका छन्।

गत मार्चमा ६६ वर्षीय स्क्रिपाल र उनकी ३३ वर्षीया छोरीमाथि स्नायुप्रणालीमा असर गर्ने नोभिचोक भनिने विषालु पदार्थबाट आक्रमण भएको थियो।

पक्राउ पुर्जी

रुस र ब्रिटेनबीच सुपुर्दगी सम्झौता नभएकाले सीपीएसले ती दुई व्यक्ति आफूलाई सुम्पिन रुससँग आग्रह गर्ने छैन।

तर उनीहरूविरुद्ध युरोपेली पक्राउ पुर्जी जारी गरिएको छ र यदि ईयू सदस्य देशको भ्रमण गरे उनीहरू पक्राउ पर्न सक्छन्।

ब्रिटेनबाट आएका पछिल्ला विवरणहरूबारे प्रतिक्रिया जनाउँदै रुसी विदेश मन्त्रालयले ती व्यक्तिहरुको नाम र फोटो मस्कोका निम्ति अर्थहीन भएको जनाएको छ।

अन्य घटना

प्रहरीले अब उक्त विषालु पदार्थको आक्रमणलाई गत ३० जुनमा भएको अर्को घटनासँग पनि जोडेर हेरेको छ।

उक्त घटना सोल्ज्बरीबाट झन्डै आठ माइल टाढा रहेको एम्स्बरीमा भएको थियो। त्यहाँ डन स्टर्गेस र चार्ली रोली आफ्नै घरमा सिकिस्त पाइएका थिए।

स्टर्गेसको गत जुलाई ९ मा अस्पतालमा निधन भएको थियो। रोली गत २० जुलाईमा अस्पतालबाट डिस्चार्ज भएकी थिइन्।

पर्याप्त प्रमाण

सीपीएसकी कानुनी सेवा निर्देशक सु हेमिङका अनुसार उक्त घटनामा दोषी प्रमाणित गर्न आवश्यक पर्याप्त प्रमाण जुटेका छन्।

उनी भन्छिन् - पेट्रभ र बसिरफलाई अभियोग लगाइनु सार्वजनिक हितमा छ।

उनीहरूमाथि लगाइएका अभियोगहरूमा सेर्गेई स्क्रिपाललाई हत्या गर्ने योजना बनाएको, सेर्गेई स्क्रिपाल एवम् उनकी छोरी युलिया स्क्रिपाल र निक बेलीको हत्या प्रयास गरेको, रासायनिक हतियार ऐनविपरीत नोभिचोकको प्रयोग गरेकोजस्ता विषय छन्।

सोल्ज्बरीमा भएको उक्त घटनापछि त्यहाँ रहेका प्रहरी अधिकारी निक बेलीपनि बिरामी परेका थिए।