हवाई दुर्घटना: बीमा रकम कसरी 'आठगुणाले बढ्दैछ'

हवाई दुर्घटनाका पीडित परिवारले बीमाबापत पाउने रकम आठगुणाले बढाउनका लागि नागरिक उड्डयनसम्बन्धी महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धिलाई नेपालले अब चाँडै अनुमोदन गर्न लागेको अधिकारीहरूले बताएका छन्।

हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त महासन्धि नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूका लागि लागु हुनेछ।

साथै यसले उडानमा हुने ढिलाइका बारेमा समेत सम्बोधन गर्ने बताइएको छ।

सन् १९९९ देखि लागु भएको उक्त महासन्धि अनुमोदन भएमा नेपालको हवाई उडान क्षेत्रको ठूलो उपलब्धि हुने विज्ञहरू बताउँछन्।

हाल हवाई दुर्घटनामा भएको मानवीय क्षतिका लागि पीडितका परिवारलाई वार्सा महासन्धि र हेग प्रोटोकलअनुरूप विमान कम्पनीहरूले बीमा रकम २० हजार अमेरिकी डलर दिँदै आएका थिए।

सरकारले अन्तराष्ट्रिय हवाई उडानसम्बन्धी मोन्ट्रियल महासन्धि अनुमोदन नगरेकाले बीमामा अत्यन्त न्यून रकम भएको बताउने गरिएको थियो।

अनुमोदन

विभिन्न क्षेत्रबाट अनुमोदनका लागि दबाव दिइएपछि अहिले त्यो संसद्‌मा अनुमोदनको अन्तिम चरणमा रहेको अधिकारीहरूको भनाइ छ।

अनुमोदनलगत्तै बीमाबापत हाल पीडितका परिवारले पाउँदै आएको रकम आठगुणाले बढ्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए।

उनले भने, "हेग प्रोटोकलअनुसार यात्रुको मृत्यु भयो भने २० लाख डलर, सामानहरू नष्ट भए वा हराए त्यसको प्रतिकिलो २० डलर थियो। यो महासन्धि अनुमोदन हुनासाथ मृत्यु भएमा एक लाख ६० हजार डलर र सामानको प्रतिकिलो २४ डलर पर्न आउँछ। तोकिएको समयमा उडान नभएर पुग्ने क्षतिलाई पनि यसले सम्बोधन गरेको छ।"

यसका अतिरिक्त उक्त क्षतिपूर्ति चित्त नबुझेमा मृतकको जागिरको बाँकी अवधि अनि उसको आश्रित परिवारको सङ्ख्याका आधारमा थप क्षतिपूर्तिका लागि अदालतमा जाने व्यवस्थासमेत रहेको बताइएको छ।

'उपलब्धि'

अन्तर्राष्ट्रिय नागरिक उड्डयनविज्ञ प्रभाकर अधिकारीका अनुसार महासन्धिको अनुमोदन नेपालको नागरिक उड्डयन क्षेत्रका लागि ठूलो उपलब्धि हुनेछ।

उनी भन्छन्, "नेपालको लागि ठूलो उपलब्धि हो। ऐन बनाउन नपर्ने गरी सन्धि ऐनको दफा ९(१ ) अनुसार स्वत: अनुमोदन गरेर सरकारले बुझाएको ६० दिनभित्र लागु हुने गरी अगाडि बढिरहेको छ।"

यसबाट नेपालमा दर्ता भएका नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरबाट विदेशमा यात्रा गर्ने सबै यात्रुले लाभ पाउने बताइएको छ।

साथै नेपालले आफ्ना देशका नागरिक कुनै पनि देशको बिमान कम्पनीमा यात्रा गरे पनि उनीहरूका लागि यो नियम लागु गराउन सक्ने उड्डयनविज्ञ अधिकारीले बताए।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनका सदस्य रहेका १९१ राष्ट्रमध्ये १३१ वटा राष्ट्र यो महासन्धिको पक्षराष्ट्र भइसकेका छन्।

तर यो महासन्धि आन्तरिक उडानका हकमा भने लागु नहुने बताइएको छ।

त्यसका लागि छुट्टै कानुन बनाइने संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रालयका अधिकारीहरूको भनाइ छ।

महासन्धि अनुमोदनलगतै त्यो प्रक्रिया सुरु हुने बताइएको छ।