तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भेनेजुएला: आक्रमणहरू झेल्दै सीमा काट्नेहरूको बढ्दो लर्को
भेनेजुएलाले आर्थिक संकट पार लगाउन विभिन्न कदमहरू चाल्दै गर्दा सैयौँ भेनेजुएलालीहरू सीमा पार गर्दै छिमेकी ब्राजिल प्रवेश गर्ने क्रम बढेको छ।
भेनेजुएलामा बढेको आर्थिक संकट छल्न ब्राजिल पस्ने आप्रवासीहरूको संख्या निकै बढेको ब्राजिलका अधिकारीहरूले बताएका छन्।
केहीदिनअघि सीमा क्षेत्रमा बनाइएका भेनेजुएलालीहरू बसेका अस्थायी शिविरहरूमा आक्रमण भएका थिए। तर त्यसले आप्रवासीलाई सीमा पार्न गर्न नरोकेको बताइएको छ।
ब्राजिलको सेनाका प्रवक्ताका अनुसार आइतवार ८ सय जना भेनेजुएलाली आप्रवासीहरू होराइमा राज्य पुगेका थिए।
बीबीसीका उत्तर अमेरिका सम्पादक लिओनार्दो रोसा भन्छन्, "आप्रवासीहरू भोकै भएको र भेनेजुएलामा ओषधि उपचारको सुविधा नभएको उनीहरूको भनाइ छ।"
'मानवीय दायित्व'
ब्राजिलको प्रान्तीय अधिकारीहरुले त्यहाँको उच्च उदालतसँग केही समयका लागि सीमानाका बन्द गर्न आदेश दिन अनुरोध गरेका छन्।
तर ब्राजिलका सुरक्षा मन्त्री सर्जियो एचेगोएनलेले शरण लिन आफ्नो देश पस्ने मानिसहरूलाई सहयोग गर्नु कानुनी र मानवीय दायित्व भएको जवाफ दिएका छन्।
भेनेजुएलाले केहि समययता चरम आर्थिक संकट भोगिरहेको छ।
अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार भेनेजुएलाको मुद्रास्फीति दर एकदमै धेरै बढ्ने क्रम अझै बढेर यो वर्ष त्यो दर दश लाख प्रतिशत पुग्न सक्छ। भेनेजुएलामा प्रत्येक २६ दिनमा बस्तु र सेवाको मूल्य दुई गुणाले बढिरहेको छ।
चर्को आर्थिक संकटको मार भोगिरहेका भेनेजुएलालीहरू देश छोडेर ब्राजिलका अतिरिक्त कोलम्बिया, एक्वेडर, पेरू र चिले तर्फ पनि लागिरहेका विवरण प्राप्त भइरहेका छन्।