'छलछाम नगर, सम्झौता कार्यान्वयन गर': डा. केसी

सम्झौता कार्यान्वयन नहुँदा पटक पटक अनशन दोहोर्‍याउन बाध्य डाक्टर गोविन्द केसीले यसपालि भने कुनै छलछाम नगरी प्रतिवद्धता पूरा गर्न सरकारको पुन: ध्यानाकर्षण गराएका छन्।

डाक्टर केसीले सरकारले आफूसँग गरेको ९ बुँदे सम्झौता मन्त्रिपरिषद्बाट अझै अनुमोदन नभएको तथा विश्व विद्यालय र प्रतिष्ठानहरूको पदाधिकारी नियुक्तिका निम्ति कार्यदल गठन गर्न ढिलो भइसकेको बताए।

शिक्षा मन्त्रीले भने सम्झौता अनुसार नै चिकित्सा शिक्षाको विधेयक संसदको प्रक्रियामा अगाडि बढिसकेको भन्दै उनलाई धैर्य गर्न सुझाएका छन्।

चिकित्सा शिक्षा सुधारको लागि लड्दै आएका डाक्टर केसीले अनशन तोडेको १३ दिनपछि उपचारबाट बाहिर निस्किना साथ सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सम्झौता

चिकित्सा शिक्षा विधेयक र तिनमाथि परेका संशोधन प्रस्तावहरू संसदभित्र छलफलको चरणमा पुगे पनि ९ बुँदे सम्झौताका कतिपय बुँदाका विषयहरू कार्यान्वयन गर्न ढिलो भइसकेको उनको भनाइ थियो।

विगतमा जस्तै फेरि अर्को पटक अनशन बस्न नपर्ने गरी सम्झौता कार्यान्वयन गर्नुपर्ने डाक्टर केसीको आन्दोलनकी समर्थक डाक्टर दिपशिखा गैरे बताउँछिन्।

उनले भनिन्, "विगतमा सरकार फेरिरहने भएकोले एउटा सरकारले सम्झौता गर्ने र अर्को सरकारले त्यसलाई नमान्ने गरेको थियो। अब त बहुमतको सरकार छ। त्यसैले अब चाँहि सरकारले छिटो माग पूरा गरोस्।"

सहमति अनुसारको सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेको छैन।

गुनासो

यस्तै सम्झौता अनुसार अनशन सकिएको १५ दिनभित्र विश्व विद्यालय र प्रतिष्ठानको पदाधिकारी नियुक्त गर्नका निम्ति कार्यदल गठन गरिसक्नुपर्नेमा त्यसतर्फ पनि कुनै ध्यान नदिएको डाक्टर केसीले बताएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भने सम्झौता अनुसार नै काम अगाडि बढिसकेको भन्दै डाक्टर केसीलाई धैर्य गर्न भनेका छन्।

अब बस्ने संसदका केही बैठकहरू यिनै विषयमा केन्द्रीत हुनसक्ने भन्दै मन्त्री पोखरेलले भने, "विधेयक टुङग्याउनमा सबैको ध्यान गइरहेकोले संसदको अबको दुई वा तीन बैठक विधेयकमा नै केन्द्रीत हुनेछ। त्यसैले गुनासो गर्ने भन्दा पनि सरकारले सहमति भए अनुसारको काम गर्न अगाडि बढ्नेछ।"

विगतमा तत्कालिन सरकारहरूले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने गर्दा डाक्टर केसीले १५ औं पटक अनशन बस्नुपरेको थियो।