तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अस्ट्रेलिया: 'खडेरीपीडित किसानलाई राहत'
अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोल्म टर्नबुलले आफ्नो देश खडेरीग्रस्त भूमिमा परिणत हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै खडेरी प्रभावित किसानहरूका लागि सहयोग गर्ने घोषणा गरेका छन्।
उनले खडेरीको मारमा परेका किसानहरूलाई राहत दिनका लागि थप १४० मिलियन अस्ट्रेलियन डलरको नयाँ राहत कार्यक्रमको घोषणा गरेका हुन्।
त्यो रकमको केही हिस्सा खडेरीको मारमा परेर नोक्सानी बेहोर्न बाध्य किसानहरूको मानसिक स्वास्थ्य सुधार गर्ने कार्यक्रममा समेत खर्च गरिने भनिएको छ।
पछिल्लो आर्थिक सहायता समेत जोड्दा अस्ट्रेलियाका खडेरीपीडित किसानका लागि सरकारले गर्न लागेको खर्ख ५०० मिलियन डलर नाघ्ने भएको छ।
व्यथा
अहिले अस्ट्रेलियामा हिउँद याम चलिरहेको छ। तर पूर्वी अस्ट्रेलियाको केही भूभाग अहिलेसम्म कहिल्यै नभोगिएको जस्तो खडेरीबाट ग्रस्त भइरहेका छन्।
सबैभन्दा बढी जनसङ्ख्या भएको र कृषि उत्पादनमा पनि अब्बल न्यू साउथ वेल्स राज्यको ९० प्रतिशत भूभाग अहिले खडेरीको मार भोग्न बाध्य छ।
यो राज्यले देशलाई चाहिने एक चौथाइ कृषि उपज उत्पादन गर्ने गर्दथ्यो।
त्यही राज्यको एक खेतबाट नयाँ कार्यक्रमको घोषणा गर्दै टर्नबुलले भने, "हामी अहिले खडेरी, बाढी र वर्षाको भूमिमा परिणत भएका छौँ। हामीले यो तथ्य स्वीकार्नुपर्दछ।"
एबीसी टेलिभिजनमा देखिएकी एक समाजसेवी महिलाले त्यहाँको "दारुण" अवस्थाबारे बोल्ने क्रममा आँसु झारिन्।
"म जहिले पनि किसानहरूको पीडा सुन्ने गर्दछु। उनीहरू घण्टौँसम्म आफ्नो व्यथा सुनाउँछन् र पनि उनीहरूको व्यथा सकिँदैन।"