उत्तर कोरियाले ‘नयाँ क्षेप्यास्त्रको विकास गर्दैछ’

अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प प्रशासनसँगको न्यानो सम्बन्धका बावजुद उत्तर कोरियाले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरूको विकास गरिरहेकोजस्तो देखिएको बताएका छन्।

नाम नखुलाउने शर्तमा ती अधिकारीहरूले नयाँ प्रमाणहरूबाट प्योङयाङ नजिकैको सेनमडोङ केन्द्रमा काम भइरहेको देखिएको द वाशिङटन पोस्ट पत्रिकालाई बताएका हुन्।

उनीहरूले यसअघि बलिस्टिक क्षेप्यास्त्र निर्माण गरिएको स्थानमै त्यस्तो गतिविधि जारी राखेको जासुसी भूउपग्रहबाट थाहा भएको उल्लेख गरेका छन्।

अमेरिकासम्म मार हान्नसक्ने क्षमताको पहिलो उत्तर कोरियाली क्षेप्यास्त्र सोही केन्द्रमा निर्माण गरिएको ती अधिकारीहरू बताउँछन्।

सक्रिय

एकजना अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाए अनुसार क्षेप्यास्त्र निर्माण कार्य कति अगाडि बढिसकेको छ भन्ने कुरा चाहिँ स्पष्ट हुनसकेको छैन।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाशिङटन पोस्टले सोमवार प्रकाशित गरेको समाचारमा उत्तर कोरियाले प्योङयाङ नजिकैको सेनमडोङ केन्द्रमा तरल इन्धन भरिएका एउटा वा दुइटा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रको निर्माण गरिरहेको देखिएको उल्लेख छ।

एकजना परमाणुविज्ञ जेफ्री लेविसले भूउपग्रह तस्वीरबाट सेनमडोङ केन्द्र 'सक्रिय' रहेको देखिएको द वाशिङटन पोस्टलाई बताएका छन्।

ट्रम्प र किमबीच गत जुनमा सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको थियो।

खतरा

भेटवार्तामा दुई नेताले कोरियाली प्रायःद्वीपलाई निरस्त्रीकरण गर्ने दिशामा मिलेर काम गर्ने सहमति गरेका थिए।

त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट 'अब पारमाणविक खतरा नरहेको' बताएका थिए।

तर प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा कुनै ठोस प्रतिबद्धता विना सहमति गरेको भन्दै गत महिना उत्तर कोरियाली नेतासँगको भेटवार्तापछि ट्रम्पको आलोचना भएको थियो।

सिंगापुर शिखर बैठकको वास्तविक प्रभावका बारे आशङ्का व्यक्त गरिंदै उत्तर कोरियाले आफ्ना अस्त्र विकास कार्यक्रमलाई जारी राखेको भन्ने समाचार आएको यो पहिलो पटक होइन।