तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जापान: प्राकृतिक विपद्को घोषणा
जापानको मौसम पूर्वानुमान निकायले देशमा अत्यधिक गर्मीको लहरलाई प्राकृतिक विपद् घोषणा गरेको छ।
चर्को गर्मीका कारण त्यहाँ गत हप्तामात्रै ६५ जनाको ज्यान गएको थियो।
उक्त निकायका एकजना प्रवक्ताले केही क्षेत्रमा तापक्रम अभूतपूर्व स्तरमा बढेको भन्दै चेतावनी जारी गरेका छन्।
चर्को गर्मीका कारण २२ हजारभन्दा बढी मानिसहरूलाई अस्पताल भर्ना गरिएको आकस्मिक सेवाका अधिकारीहरूले बताएका छन्।
चर्कँदो तापक्रम
मौसम पूर्वानुमानविद्हरूका अनुसार चर्कँदो तापक्रम घट्ने कुनै सङ्केत देखिएको छैन।
सोमवार राजधानी टोक्यो नजिकको कुमागाया सहरमा तापक्रम ४१.१ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन जापानमा रेकर्ड गरिएको हालसम्मकै सबैभन्दा उच्च तापक्रम हो।
टोक्योको मध्यवर्ती भागमा पनि पहिलो पटक तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ।
जापानको मौसम पूर्वानुमान निकायले अगस्टको सुरुसम्म नै तापक्रम ३५ डिग्री सेल्सियस वा त्योभन्दा बढी रहनसक्ने भनी सावधान गराएको छ।
खतरा
प्रवक्ता मोटोआकी ताकेकावाले भने, "केही क्षेत्रमा पहिले कहिल्यै अनुभव नगरिएको स्तरमा गर्मी बढेको देखिएको छ र चर्को गर्मीले मानिसको जीवनलाई नै खतरामा पारेको देखिएको छ। त्यही भएर यो अवस्थालाई एउटा प्राकृतिक विपद् भनेका छौँ।"
उत्तरी टोक्योस्थित इबाराकी प्रान्तमा भुइँमा ढलेको अवस्थामा भेटिएकी एक जना ९१ वर्षिया वृद्धालाई अस्पताल लैजाँदा उनको मृत्यु भइसकेको घोषणा गरिएको थियो।
नजिकैको साइतामामा पाको उमेरका दुई महिलाहरूलाई उनीहरूकै घरमा मृत फेला पारिएको थियो।
सरकारी प्रवक्ता योसिहिडे सुगाले आधाभन्दा कम सरकारी विद्यालयहरुमा मात्रै हावा चिसो पार्ने प्रणाली, एअर कन्डिशनर, जडान गरिएको हुनाले विद्यार्थीलाई सुरक्षित राख्नको लागि गर्मीको बिदाको समय लम्बाउन सकिने बताए।
एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, "देशैभरि गर्मी बढिरहँदा स्कुले बालबालिकाको जीवन रक्षाका लागि जरुरी उपायहरूको आवश्यकता रहेको छ।"
सर्वसाधारणहरूलाई गर्मीबाट बच्न प्रशस्त पानी पिउन, हावा चिसो पार्ने प्रणालीको प्रयोग गर्न र गर्मीबाट हुने थकानबाट जोगिन आराम गर्न सुझाव दिइएको छ।