डा. केसीको अनशनबारे सदनमा आरोपप्रत्यारोप

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डाक्टर गोविन्द केसीले उठाउँदै आएको चिकित्सा शिक्षासम्बन्धी प्रस्तावित विधेयक पुरानो अध्यादेश जस्तै हुनुपर्ने भन्ने माग सरकारले पूरा नगर्ने स्पष्ट सङ्केत सोमवार संसद्‌मा दिएका छन्।

उनले भने, "यो सार्वभौम संसद्ले निर्णय गर्न पाउने अधिकारलाई डाक्टर केसीले सम्मान गर्नुपर्छ। पहिले वहाँले भनेको कुरा मानौँ अनि अरू कुरा गरौँला भन्ने हो भने संसद्लाई हामीले त्यस्ता आन्दोलनको लाचार छाया बनाउनु पर्छ।"

खासगरी अध्यादेशमा राखिएका काठमाण्डूमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइने अनि छात्रवृत्तिका कोटा र सन्तुलनसम्बन्धी व्यवस्थालाई विधेयकले नसमेटेकोमा डाक्टर केसी असन्तुष्ट छन्।

सरकार चाहिँ ती विषय प्राविधिक भएकाले शक्तिशाली आयोगमार्फत् त्यसको व्यवस्था गराउने मनस्थितिमा छ।

वादविवाद

डाक्टर केसीको जीवनरक्षाका लागि र चिकित्सा शिक्षासम्बन्धी कानुनबारे छलफल गर्न प्रतिपक्षी कांग्रेसले राखेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा सोमवार करिब ५० जना सांसदले आआफ्ना भनाइ राखे।

सरकारले दुईतिहाइ बहुमतको दम्भ देखाएको भन्दै कांग्रेसका सांसद गगन थापाले डाक्टर केसीको अभियानलाई कमजोर नआँक्न चेतावनी दिए।

"सत्यको पक्षमा फगत एक जना भए पुग्छ। आज डाक्टर केसी सत्यका पक्षमा उभिएका छन्। उनका पछाडि कति मानिस छन् भनेर नहेर्न म प्रधानमन्त्रीलाई आग्रह गर्छु," थापाले भने।

'ब्ल्याकमेलिङ् भयो'

तर सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले भने खुलेर सरकारको बचाउ गरे।

सरकारविरुद्ध प्रतिपक्षी बेकारमा खनिएको आरोप लगाउँदै सांसद योगेश भट्टराईले भने, "काठमाण्डूमा कतिवटा मेडिकल कलेज खोल्ने वा कहाँ खोल्ने भन्ने विषय डाक्टर गोविन्द केसीले भन्ने होइन। यो त योजनाविद्हरूले छलफल गरेर निकाल्ने निश्कर्ष हो।"

"आज डाक्टर केसीको नाममा, गङ्गामायाको नाममा अनि बालकृष्ण ढुङ्गेलको नाममा सरकारलाई भावनात्मक ब्ल्याकमेलिङ् गर्ने काम भइरहेको छ।"

तर कतिपय प्रतिपक्षी सांसदले भने डाक्टर केसीले उठाएका मुद्दा गरिब र पिछडिएका क्षेत्रको हितमा रहेको बताएका थिए।

तिनैमध्ये एक थिइन् रङ्गमती शाही।

उनले भनिन्, "गरिब जनताका छोराछोरीले पनि डाक्टर पढ्न पाऊन् भन्ने हामी सबैको चाहना हो। डाक्टर केसी कुनै दलको झन्डा बोकेर अनशन गरिरहेका छैनन्।"

यसबीच १० दिन देखि जुम्लामा अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था लगातार खराब बनिरहेको बताइएको छ।

त्यसबारे आफूहरू पनि जानकार रहेको बताउने शिक्षामन्त्रीले "डाक्टर केसीलाई मनाउन भूमिका खेल्न प्रतिपक्षीसहित सबैलाई" आग्रह गरे।