जापान: बाढी, पहिरोमा कम्तीमा ३८ जनाको मृत्यु

पश्चिमी जापानमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि कम्तीमा ३८ जनाको ज्यान गएको र करिब ५० जना हराइरहेको अधिकारीहरूले बताएका छन्।

सबैभन्दा धेरै क्षति हिरोशिमा क्षेत्रमा भएको छ जहाँ बिहीवारदेखि वर्षा भइरहेको थियो। त्यस क्षेत्रमा सयौँ घरहरू क्षतिग्रस्त भएका छन्।

पश्चिमी जापानमा बाढी पहिरोको त्रासदीपछि करिब १५ लाख मानिसलाई घर छोड्न निर्देशन दिइएको छ। दशौँलाख मानिसलाई सजग रहन भनिएको छ।

विपद्पछि खोज तथा उद्धार कार्यमा हजारौँ प्रहरी, अग्नि नियन्त्रक तथा सैनिकहरू खटिएका छन्।

जापानको क्योडो समाचार संस्थाका अनुसार कैयौँ पीडितहरूको पहिरोमा पुरिएर ज्यान गएको छ।

भारी वर्षा

टोक्योदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा शुक्रवार र शनिवार गरी ५८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विज्ञान निकायले जनाएको छ।

आउने दिनमा थप वर्षा हुने अनुमान गरिएको छ।

हिरोशिमादेखि ३०० किलोमिटर पूर्वमा पर्ने क्योटोमा पनि भारी वर्षा भएको छ।

एक स्थानीयवासी मानाबु ताकेशिताले जापान टाइम्स समाचारपत्रलाई विपद्पछि नदी किनारमा बसोबास गर्ने मानिस चिन्तित भएको बताए।

उनले भने, "आँधी आउने याम सुरु हुन लागेकोले नदी छेउछाउ बस्ने मानिसहरू थप त्रसित भएका छन्।"