तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीन: सी भन्छन्, 'एक इन्च पनि गुमाउने पक्षमा छैनौँ'
चीनका राष्ट्रपति सी जिनपिङले भ्रमणमा आएका अमेरिकी रक्षामन्त्री जेम्स म्याटिससँगको भेटवार्तापछि बोल्दै चीन शान्तिप्रति प्रतिबद्ध रहेको तर आफ्नो भूभागको एक इन्च पनि त्याग्न तयार नरहेको बताएका छन्।
आपसी व्यापारिक शत्रुता र दक्षिण चीन सागरमा चीनले कडा रुपमा आफ्नो दावी प्रस्तुत गरिरहँदा चीन र अमेरिकाबीचको तनाव चर्कँदो अवस्थामा छ।
सन् २०१४ यता चीनको भ्रमण गर्ने जेम्स म्याटिस प्रथम अमेरिकी रक्षामन्त्री हुन्।
उनी एशिया भ्रमणमा छन् र यसक्रममा कैयौँ क्षेत्रीय साझेदारहरूसँग भेटघाट गरेका छन्।
जेम्स म्याटिसले राष्ट्रपति सी र अन्य अधिकारीहरूसँग बुधवार भएको भेट "एकदमै राम्रो" भएको बताएका छन्।
अमेरिकाले चीनसँगको "सैनिक सम्बन्धलाई एकदमै उच्च दर्जाको महत्व दिएको" उनले बताए।
धारणा
राष्ट्रपति सीले चीनको चाहना शान्ति भएकोमा जोड दिंदै चीनले आफ्नो ठान्ने गरेको क्षेत्रका सम्बन्धमा कुनै छुट नदिइने आफ्नो पुरानो धारणालाई दोहोर्याएका छन्।
"हाम्रा पुर्खाले छाडेर गएका इलाकाको एक इन्च पनि गुमाउने पक्षमा हामी छैनौँ," उनलाई उद्धृत गर्दै चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
"अरूहरूको सम्पत्ति पनि हामीलाई चाहिँदैन," सीले भनेका छन्।
दक्षिण चीन सागरमा चीनको गतिविधिलाई अमेरिकाले बारम्बार आलोचना गर्दै आएको छ।
उसले चीनलाई त्यहाँ कृत्रिम टापुहरू र विभिन्न संरचना निर्माण गर्ने गरेर आफ्ना छिमेकीहरूलाई धम्काउने गरेको अनि त्यस क्षेत्रलाई सैनिकीकरण गरेको आरोप लगाउने गरेको छ।
उक्त जल क्षेत्रमा त्यहाँका कतिपय देशहरुले आआफ्ना दाबी प्रस्तुत गर्ने गरेका छन्।
चीनले उक्त जलक्षेत्रको सबैभन्दा ठूलो हिस्सा आफ्नो भएको भन्ने गर्दछ। उसले त्यसमाथिको आफ्नो अधिकार धेरै शताब्दीदेखि भएको दाबी गर्ने गर्छ।
उक्त जलक्षेत्र जलयातायातको एउटा ठूलो मार्ग हो।
त्यहाँ प्रशस्त माछा मार्न सकिन्छ। तथा त्यहाँ तेल र प्राकृतिक ग्यासको प्रचुर भण्डार रहेको पनि ठानिन्छ।