विश्वकपः अन्तिम क्षणको गोलले जोगियो जर्मनी

टोनी क्रोशले स्वीडनविरुद्ध अतिरिक्त समयमा गरेको गोलको मद्दतले विश्वकप विजेता जर्मनीले सन् १९६२ मा ब्राजिलले उपाधि जोगाएयता त्यस्तो गर्न सक्ने पहिलो टोलीका रूपमा आफूलाई उभ्याउने सम्भावना कायमै राखेको छ।

ओला टोइभोनेनले पहिलो हाफमा स्वीडनलाई अग्रता दिलाएपछि योआखिम लोको प्रशिक्षणमा रहेको जर्मनी पहिलो चरणबाटै घर फर्कने सम्भावना देखिएको थियो।

तर आर्सनलका मेसुट ओजिलको ठाउँमा खेलेका मार्को रोइसले खेललाई बराबरीमा ल्याए।

मध्यान्तरपछिको खेलमा जर्मनीले आफ्नो पकड कायम राखेको थियो।

सीमित

अन्तिम समयमा दोस्रो पहेँलो कार्ड पाएर जेरोम बोअटेङलाई बाहिर पठाइएपछि १० खेलाडीमा सीमित भएको जर्मनीले आक्रमण भने कायम रहेको थियो।

थपिएको पाँच मिनेटको अन्तिम समयमा प्राप्त 'फ्रि-कीक' लाई सदुपयोग गर्दै जर्मनीले जित हासिल गर्‍यो।

उक्त क्षणमा जर्मनीका खेलाडीहरू आफ्ना समर्थक भएतर्फ फर्किएर खुशी मनाएका थिए भने स्वीडनका खेलाडीहरू मैदानमै ढलेका थिए र कतिपय भावुक भएका थिए।

पछिल्लो परिणामले समूह एफमा रहेका चारवटै टोलीहरूको दोस्रो चरणमा पुग्ने सम्भावना जीवितै रहेको देखाएको छ।

अब जुन २७ मा मेक्सिकोले स्वीडनसँग र जर्मनीले दक्षिण कोरियासँग खेल्नेछन्।

आधासमय सकिँदा सोचीमा भएको खेल जर्मनीका लागि 'कालो दिन' बन्न गइरहेको छ भन्ने ठानिएको थियो।

निर्देशन

तर प्रशिक्षक लोले प्राविधिक क्षेत्रबाट आफ्ना खेलाडीहरूलाई निर्देशन दिइरहे र मध्यान्तरपछि मारिओ गोमेजलाई मैदानमा ल्याएपछि जर्मनीले आक्रामक खेल अघि बढायो।

सन् १९७४ को विश्वकपयता पहिलो हाफमा पछि परेर पनि जर्मनीले पहिलो पटक विजय हासिल गरेको हो।

त्यसबेला पनि जर्मनी स्वीडनसँग १ गोलले पछि परेको थियो।

तर उसले अन्तिम परिणाम ४-१ ले आफ्नो पोल्टामा पारेको थियो।

यो खेलमा स्वीडनका गोल रक्षक रोबिन ओल्सेनले ५४८ मिनेटपछि पहिलो गोल खाएका थिए।

सन् २०१७ को अक्टोबरमा नेदरल्याण्डविरुद्ध गोल खाएयता उनले पाँचवटा खेलमा उनीविरुद्ध एक गोल पनि भएको थिएन।

बेल्जियम: आक्रामक जित

शनिवारको अर्को खेलमा रोमेलु लुकाकु र इडन हजार्डले दुई-दुई गोल गरेपछि बेल्जियमले ट्युनिसियलाई पराजित गर्‍यो।

आफ्नो प्रभावशाली खेलका मद्दतले समूह जीको शीर्ष स्थानमा बेल्जियम पुगेको छ।

सोमवारको खेलमा पनामालाई इंग्ल्याण्डले पराजित गरे बेल्जियम र इंग्ल्याण्ड दुवै दोस्रो चरणमा प्रवेश गर्नेछन्।

खेलको पाँच मिनेटमा नै बेल्जियमले ट्युनिसियाविरुद्ध अग्रता कायम गरेको थियो।

लुकाकुले अब पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै हालसम्मको सर्वाधिक बढी अर्थात् चार गोल गर्ने खेलाडीका रूपमा आफूलाई उभ्याएका छन्।

उनले पछिल्ला ११ खेलमा बेल्जियमका लागि १७ गोल गरिसकेका छन्।

पनामाले इंग्ल्याण्डलाई पराजित गरेन भने ट्युनिसिया विश्वकपबाट बाहिरिने तेस्रो अफ्रिकी टोली हुनेछ।

बेल्जियविरुद्धको खेलमा ट्युनिसियाले सान्त्वना दुई गोल भने प्रहार गरेको थियो।

हालसम्म विश्वका १३ वटा खेल खेलेको ट्युनिसियाले एउटामा पनि जित हात पारेको छैन र लगातार पछिल्लो चारवटामा हार बेहोरेको छ।

मेक्सिको थप मजबुत

शनिवारकै अर्को खेलमा जर्मनीलाई पहिलो खेलमा हराएको मेक्सिकोले दक्षिण कोरियाविरुद्ध दुई-एक गोल अन्तरको जित निकालेको छ।

यो जितसँगै मेक्सिको दोस्रो चरणको नजिक पुगेको छ।

कार्लोस भेलाले २६ औँ मिनेटमा पेनाल्टीमार्फत मेक्सिकोलाई अग्रता दिलाएका थिए।

त्यो यो प्रतियोगितामा दिइएको १४ औँ पेनाल्टी थियो।

शृङ्खलाबद्ध आक्रमण र प्रत्याक्रमण देखिएको उक्त खेलमा ज्याभियर हर्नान्डेसले मेक्सिकोका लागि निर्णायक गोल गरेका थिए।

त्यो उनले आफ्नो देशका लागि गरेको ५० औँ गोल थियो।

दोस्रो चरण सुनिश्चित गर्न आगामी खेलमा स्वीडनविरुद्ध मेक्सिकोले अंक हासिल गर्नुपर्ने देखिन्छ।

त्यसैगरी आफूले जर्मनीविरुद्ध जित हासिल गरे र मेक्सिकोले स्वीडनलाई हराए दोस्रो चरणमा पुग्ने दक्षिण कोरियाको सम्भावना पनि कायमै देखिन्छ।