तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत: एटीएममा छिरेर 'मुसाले काटे लाखौँ रुपैयाँ'
भारतको पूर्वोत्तर राज्य आसाममा एउटा एटीएम बिग्रेपछि जाँच गर्न प्राविधिकहरू खटाइए। उक्त एटीएम खोलेपछि उनीहरू छक्क परे।
किनभने भारु १२ लाखभन्दा बढी मूल्यका नोटहरू काटिएको अवस्थामा भेटिए।
तीनसुकिया जिल्लास्थित स्टेट ब्याङ्क अफ इन्डियाको सो एटीएममा पाँच सय र दुई हजार दरका ती नोटहरू मुसाले काटेको शङ्का गरिएको छ।
हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार तार लैजान पारिएको एउटा प्वालबाट मुसाहरू छिरेको अनुमान प्रहरीको छ।
मुसाले काटेका नोटको थुप्रोका तस्बिरहरू धेरैले सामाजिक सञ्जालमा हालेका छन्।
त्यस्तै एउटा तस्बिरमा एउटा मरेको मुसो फोहोरको खातमा पल्टेको देखिन्छ।
एक जना प्रहरी अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले उक्त एटीएमले १२ दिनदेखि काम नगरेको बताएको छ।
प्राविधिकहरूले झन्डै १७ लाख भारतीय रुपैयाँ भने सकुशल निकालेको बताइएको छ।