जर्मनीको अप्रत्याशित पराजय; ब्राजिलको बराबरी

तस्बिर स्रोत, Getty Images
विश्वकपको एक प्रमुख दाबेदार मानिएको ब्राजिल रुस विश्वकपको आफ्नो पहिलो खेलमा स्विट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ भने गत संस्करणको विश्वकप विजेता जर्मनीले मेक्सिकोसँग पराजय व्यहोरेको छ।
प्रतियोगिताको उत्कृष्ट टोलीमध्येमा हेरिएको ब्राजिलले सन् १९७८ यता पहिलो पटकको विश्वकपको आफ्नो सुरुवाती खेल जित्न नसेकेको हो।
१-१ गोलको महत्त्वपूर्ण बराबरीसँगै स्विट्जरल्याण्डले एक अंक हासिल गरेको छ।
पाँच पटकको विश्व कप विजेता ब्राजिलका तर्फबाट २० औँ मिनेटमा काउटिन्होले उत्कृष्ट गोल गरेका थिए।

तस्बिर स्रोत, Getty Images
नियन्त्रण
टिटेको प्रशिक्षणमा रहेको ब्राजिलका तर्फबाट ग्याब्रिएल जिसस र विलियन अनि नेमार अंग्रपङ्क्तिबाट खेलेका थिए।
स्विट्जरल्याण्डले स्टिभन जुबेरको हेडमार्फत कर्नरमा प्राप्त बलमा गोल फर्काएको थियो।

तस्बिर स्रोत, Getty Images
खेल अवधिको झण्डै ४५ प्रतिशत स्विटजरल्याण्डले बल आफ्नो नियन्त्रणमा राखेको थियो।
स्विटजरल्याण्डका भेलन बेरामीले ब्राजिलका स्ट्राइकर नेमारलाई कडा निगरानीमा राखेका थिए र ७१ मिनेट खेल्दा उनले ९३ प्रतिशत पासहरू सहि ठाउँमा दिएको जनाइएको छ।
हार
ब्राजिल स्विटजरल्याण्ड अघि भएको जर्मनी र मेक्सिकोबीचको लिग चरणको अर्को खेलमा जर्मनी अप्रत्याशित रूपमा पराजय बेहोरेको छ।
हिर्भिङ लोजानोले पहिलो हाफमा गरेको गोल उक्त खेलमा निर्णायक बन्यो।
जर्मनीका लागि टोनी क्रुसले गोल फर्काउने प्रयास गरेपनि त्यसपछि जमनीले खासै राम्रो आक्रमणहरू गर्न सकेन।

तस्बिर स्रोत, Getty Images
यो सन् १९८२ यता जर्मनीले विश्वकप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा बेहोरेको पहिलो पराजय हो। त्यसबेलाले पश्चिम जर्मनी अल्जेरीयाबाट पराजित भएको थियो।
हालैका केही मैत्रीपूर्ण खेलमा सकारात्मक परिणाम नदेखिए पनि जर्मनीको टोली खासै चिन्ता नलिइ रूस विश्वकपमा आएको थियो।
तर मेक्सिकोसँगको हार जर्मनीका लागि घातक हुनसक्ने पनि विश्लेषण गरिएको छ। जर्मनीले स्विडेन र दक्षिण कोरियालाई पराजित गर्दै अघि बढेपनि उसले समूह 'इ' को विजेता यदि ब्राजिल भए उसँग दोस्रो चरणमा भिड्नु पर्नेछ।
मेक्सिकोले विगतका ११ वटा जर्मनी विरुद्धका खेलमा जम्मा एउटामा जित हात पारेको थियो। अघिल्लो वर्षको कन्फेडेरेसन्स कपमा पछिल्लो पटक जर्मनीको दोस्रो टोलीले मेक्सिकोलाई ४-१ ले पराजीत गरेको थियो।
शनिवारको परिणामपछि मेक्सिकोका प्रशिक्षकले आफूले टोलीलाई हार्ने डरभन्दा पनि जित्ने प्रेरणाले खेल्न प्रोत्साहित गरेको प्रतिक्रिया दिएका छन्।
शनिवारकै अर्को खेलमा सर्बियाले कोस्टारिकालाई १-० अन्तरले हराएको छ।








