ट्रम्प-किम भेट: सहमतिपत्रमा के छ?

तस्बिर स्रोत, AFP
प्योङयाङलाई सुरक्षा ग्यारेन्टीको बदलामा पूर्ण परमाणु-निरस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने एउटा संयुक्त सहमतिमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले हस्ताक्षर गरेका छन्।
उक्त सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्धको पनि वाचा गरेको छ।
बीबीसी सम्वाददाता लोरा बिकरका अनुसार ट्रम्प-किम घोषणापत्रका मुख्य चार बुँदाको भावानुवाद यसप्रकार छ:
१) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी-उत्तर कोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन्।
२) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्राय:द्वीपमा दिगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकताबद्ध तुल्याउनेछन्।
३) सन् २०१८ को एप्रिल २७ तारिखमा भएको पाम्मुन्जम घोषणापत्रप्रति समर्थन जनाउँदै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्राय:द्वीपको पूर्ण परमाणु निरस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ।
४) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाइँका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव अवशेषहरूलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउँछन्।
सिङ्गापुरमा आयोजित हस्ताक्षर समारोहमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँगको वार्ता कसैले अनुमान गरेभन्दा पनि राम्रो ढङ्गले सफल भएको बताए।

तस्बिर स्रोत, AFP/Getty Images
सम्बन्ध
आफूहरुबीच विशेष सम्बन्ध बनेको पनि उनको भनाइ छ।
उत्तर कोरियाली नेता किमले आफूहरू विगतलाई पछाडि छाड्न सहमत भएको बताए।
तर केही विश्लेषकहरू उक्त सम्झौताप्रति उत्साही देखिएका छैनन्।
एक जनाले त्यसलाई एकदम पातलो र अर्थहीन समेत भनेर टिप्पणी गरेका छन्।








