तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गंगामायाको जीवन रक्षाका लागि पहल गर्नू: आयोग
सशस्त्र द्वन्द्वताका छोराको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै लामो समयदेखि वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले उनको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ।
विगतमा पटकपटक अनशन बस्दै आएकी गंगामाया पछिल्लोपटक १० दिनअघि छोराको हत्यामा संलग्न भनिएका दुईजनालाई पक्राउ गर्नुपर्ने माग राख्दै अनशनमा बस्दै आएकी छन्।
सरकारका प्रवक्ताले भने अधिकारीको जीवनरक्षाबारे सरकार गम्भीर रहे पनि उनको माग द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित भएकोले क्षतिपूर्तिलगायतका उपायबाट समाधान हुनसक्ने प्रतिक्रिया दिएका छन्।
अपहरणमा परी २०६१ सालमा हत्या गरिएका भनिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै गंगामाया अधिकारी पछिल्लोपटक जेठ १५ गतेदेखि वीरअस्पतालको शय्यामा नै अनशन बस्दै आएकी छन्।
ध्यानाकर्षण
उनी अनशन बसिरहँदा बिहान द्वन्द्वकालीन घटनाका पीडितहरूको समूह राष्ट्रिय मानव अधिकार आयोगलाई घचघच्याउन पुगेको थियो।
गंगामायाको जीवन रक्षाकै लागि आयोगले अहिले किन बोल्नुपर्ने अवस्था आयो?
आयोगका तर्फबाट शुक्रवार वीर अस्पतालमा गंगामायाको अवस्थाबारे बुझ्न पुगेका आयोगका सदस्य प्रकाश वस्तीले बीबीसीलाई भने, "स्थिति नाजुक छ। कुनै पनि बेला उहाँले प्राण पनि त्याग्न सक्नुहुन्छ भन्ने खबर आएपछि हामीले उहाँको अवस्था बुझ्न पुगेका थियौं। अवस्था हेरेर जीवनरक्षाका लागि अनुरोध गर्न सरकारलाई पत्राचार गरेका छौं।"
आयोगले गंगामायाको अवस्था गम्भीर रहेको भन्दै उनको जीवन रक्षाका लागि आवश्यक पहल गर्न सरकारलाई पत्राचार गरेको छ।
साथै उनको माग अनुसार हत्याका अभियुक्तहरूलाई प्रहरीले किन पक्राउ गर्न नसकेको भन्ने विषयमा पनि तीनदिनभित्र जानकारी गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको वस्तीले बताए।
सीमा
उनले यस्तो बताइरहँदा सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले न्यायोचित माग सम्बोधन गर्न सरकार पछि नपर्ने तर सरकारको पनि सीमा रहेको बताए।
उनले भने, "एउटा-एउटा मुद्दा उधिनेर मात्रै हिँड्ने भयो भने त यो प्रक्रियामा समस्या पनि हुने भयो। बरू उहाँले अरू न्याय राहतको कुरा गर्दा सजिलो हुन्छ होला। यो विषयमा पक्राउ गर्नुपर्नेलाई अदालतले आदेश दिएको भए प्रहरीले पक्रेला।"
छोराको हत्यारालाई सजायको माग गर्दै उनीसँगै अनशनमा बसेका गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको भने आमरण अनशनमा बसेकै बेला २०७१ साल असोजमा निधन भएको थियो।
उनको शव अहिलेसम्म शिक्षण अस्पतालकै शवगृहमा रहेको छ।