शुक्लाफाँटा: वन्यजन्तुका लागि कृत्रिम पोखरी

गैँडा

तस्बिर स्रोत, Gopal Bahadur Ghimire

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृत्रिम पोखरीहरू निर्माण भएपछि वन्यजन्तुहरूले पानीका लागि भौँतारिनुपर्ने अवस्था अन्त्य भएको संरक्षण अधिकारीहरूले बताएका छन्।

निकुञ्जका सुख्खा क्षेत्रमा वन्यजन्तुका लागि पानी खान र आहाल बस्न मिल्ने छवटा कृत्रिम पोखरी बनेपछि वन्यजन्तु वरपरका गाउँतिर भौँतारिने क्रम घट्ने र किसानहरूको बालीनालीमा कम नोक्सान हुने उनीहरूको अपेक्षा छ।

गर्मी याममा पानीको स्रोत सुक्ने हुनाले वन्यजन्तु गाउँबस्तीमा पसेर मानिसहरूले ज्यानै जोखिममा पर्ने गरेको स्थानीयबासीको भनाइ छ।

तर अब त्यो अवस्थामा सुधार हुने उनीहरूको आशा छ।

"ध्वनिरहित प्रविधि"

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले नेपाल सरकारको संरक्षण कार्यक्रम र तराई भूपरिधि कार्यक्रमको सहयोगमा "ध्वनिरहित प्रविधि"को प्रयोग गरेर जमिनमुनिबाट पानी तानी छवटा कृत्रिम ताल निर्माण गरिएको हो।

गैँडा

तस्बिर स्रोत, Gopal Bahadur Ghimire

ध्वनि नियन्त्रण गर्नका लागि आवाज ननिस्कने मोटर प्रयोग गरिएको छ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिएको शुक्लाफाँटामा चितवनबाट ल्याइएका १७ गैँडा, १७ वयस्क बाघ, तीन जङ्गली हात्ती, सयौँको सङ्ख्यामा बाह्रसिंगालगायत अरू सङ्कटापन्न र दुर्लभ वन्यजन्तु रहेका छन्।

निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार पोखरी बनेपछि वन्यजन्तु बाहिर जाने क्रम घटेको छ।

विस्तार

ताल

केही वर्षअघि मात्र साबिकको शुक्लाफाँटा आरक्षको क्षेत्रफल विस्तार गरी राष्ट्रिय निकुञ्ज घोषणा गरिको हो।

क्षेत्रफल विस्तारपछि वन्यजन्तुको सङ्ख्या पनि बढेको अधिकारीहरू बताउँछ्न्। तर ती मध्यवर्ती क्षेत्रका गाउँबस्तीमा पस्न थालेपछि समस्या उत्पन्न हुन थालेको हो।

तर वन्यजन्तुको घनत्व बढी भएका क्षेत्रमा कृत्रिम ताल बनाएपछि परिस्थितिमा सुधार भएको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष पुष्करबहादुर सिंहले बताए।

स्थानीय युवाहरूलाई समेत वन्यजन्तुको संरक्षणका लागि परिचालन गरिएपनि संरक्षण प्रभावकारी हुन थालेको उनको भनाइ छ।