तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘ढुंगेललाई माफी दिने प्रक्रिया रोक्न रिट’
हत्या अभियोगमा जन्म कैद सजाय भोगिरहेका तत्कालीन माओवादीका पूर्व सांसद् बालकृष्ण ढुंगेललाई कैद माफी दिने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेललाई दोषी ठहर्याएको थियो।
काठमाण्डूका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले ढुंगेललाई कैद मिनाहा दिन सिफारिस गरिएको बीबीसीलाई जानकारी दिए।
बचाउ
४० प्रतिशत कैद भुक्तानी गरिसकेका कैदीलाई उसको असल चालचलनको आधारमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट माफी दिने सक्ने व्यवस्था छ।
तर रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, "जघन्य अपराधमा कसुरदार ठहरिएको र न्यायाधीशलाई भौतिक हमलाको धम्की दिने व्यक्तिलाई माफी दिनु कानुनको दुरुपयोग हो र त्यसले दण्डहीनताले प्रश्रय दिने भएकाले त्यो रोक्ने आदेश माग्दै रिट दर्ता गरेको हुँ।"
माओवादीले द्वन्द्वकालमा भएको हत्या घटनामा ढुंगेललाई दोषी ठहर्याइएको भन्दै उनको बचाउ गर्दै आएको थियो।
मानवअधिकारवादी संस्था इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले विज्ञप्ति जारी गर्दै माफी दिने प्रक्रियाको भर्त्सना गर्दै फिर्ता लिन माग गरेका छन्।
दण्डहीनतालाई मलजल
यस्तो कदमले दण्डहीनतालाई मलजल गर्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, "मानवअधिकार, कानुनको शासन र दण्डहीनताको विषय नेपालको मात्रै हैन यस्ता विषयमा अन्तर्राष्ट्रिय जगतले पनि सूक्ष्म दृष्टि लगाइरहेको हुन्छ भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।"
सर्वोच्चबाट अन्तिम आदेश हुनुअघि पनि केही वर्ष ढुंगेलले जेल सजाय भुक्तान गरेको बताइएको छ।
सर्वोच्चले फेरि उनलाई दोषी ठहर्याएपछि त्यसले राजनीतिक तरंग उत्पत्न गरिदिएको थियो।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि उनलाई माफी दिने प्रक्रिया शुरु भएको थियो।
त्यसविरुद्ध रिट परेपछि सर्वोच्चले सरकारको कदमलाई अंकुश लगाइदिएको थियो।