तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डोनल्ड ट्रम्प: किमको आक्रोश र वैरभावले वार्ता स्थगन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनसँग गर्ने भनिएको शिखरवार्ता स्थगित गरेका छन्।
उत्तर कोरियाली नेताले केही समययता आफ्ना टिप्पणीहरूमा पोखेको 'चरम आक्रोश र खुल्ला वैरभाव' का कारण उनीसँग अहिले भेट गर्नु उपयुक्त भएको ट्रम्पले बताएका छन्।
किमलाई सम्बोधन गरिएको एउटा पत्रमा ट्रम्पले यो स्थगनबाट 'संसारले दीर्घकालीन शान्तिको ठूलो मौका गुमाएको' भन्दै वार्ताको सम्भावना भने कायम रहेको उल्लेख गरेका छन्।
जुन १२ मा सिङ्गापुरमा उनीहरूको भेट हुने बताइएको थियो।
किम र ट्रम्पको सम्भावित भेटपछि उत्तर कोरियाले पारमाणविक अस्त्रहरू त्याग्ने अपेक्षा गरिएको थियो।
उत्तर कोरियाले पारमाणविक अस्त्र परीक्षणस्थलमा रहेका सुरुङहरू नष्ट गरेको केही घण्टामै ट्रम्पले वार्ता स्थगित भएको घोषणा गरेका हुन्।
पुङ्गेरीमा पुगेका विदेशी पत्रकारहरूले परीक्षणस्थलमा ठूलो विस्फोट भएको देखेको बताएका छन्।
ट्रम्पले के भने?
अहिले स्थगित गरिएको शिखरवार्ता पछि गर्न आफू इच्छुक रहेको ट्रम्पले बताएका छन्।
"तपाईँसँग त्यहाँ भेट्न म साह्रै उत्सुक थिएँ। दु:खको कुरा, तपाईँको पछिल्लो वक्तव्यमा प्रदर्शित चरम आक्रोश र खुल्ला वैरभावले धेरै पहिलादेखि योजना गरिएको भेट गर्नु अहिले मलाई उपयुक्त लागेन," उनले लेखेका छन्।
"तपाईँ आफ्नो पारमाणविक क्षमताको कुरा गर्नुहुन्छ। तर हाम्रो पारमाणविक क्षमता यति विशाल र शक्तिशाली छ कि, म ईश्वरसँग प्रार्थना गर्छु, त्यसको प्रयोग कहिल्यै गर्नु नपरोस्।"
पत्रको अन्त्यमा ट्रम्पले किमलाई यदि उनले मनस्थिति परिवर्तन गरे आफूलाई फोन गर्न आग्रह गरेका छन्।
"विश्व र विशेषगरी उत्तर कोरियाले दीर्घकालीन शान्ति र समृद्धिको एउटा ठूलो मौका गुमाएको छ। यो पक्कै पनि इतिहासको दु:खद क्षण हो।"
बिहीवार पूर्वाह्ण एक जना उत्तर कोरियाली अधिकारी च्वे सन-हीले अमेरिकी उपराष्ट्रपति माइक पेन्सको 'उत्तर कोरिया लिबियाजस्तै सकिन सक्ने' भन्ने टिप्पणीलाई 'मूर्खतापूर्ण' भन्दै निन्दा गरेका थिए।
च्वे उत्तर कोरियाले अमेरिकासँग गत दशकदेखि गर्दै आएका कूटनीतिक वार्ताहरूमा संलग्न हुँदै आएका अधिकारी हुन्।
उत्तर कोरियाले वार्ताको भिक्षा नमाग्ने भन्दै उनले यदि कूटनीति असफल भए 'पारमाणविक मुठभेड' हुने चेतावनी दिएका थिए।
प्रतिक्रिया
ट्रम्पको घोषणापछि दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले आफ्ना सुरक्षा अधिकारीहरूसँग भेट्दैछन्। उनले गत महिना किमसँग वार्ता गरेका थिए।
योन्हाप समाचार संस्थालाई सरकारी प्रवक्ताले "(हामी) राष्ट्रपति ट्रम्पको उद्देश्य र त्यसको अर्थ के हो भनेर बुझ्न खोज्दछौँ" भनेका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेजले वार्ता स्थगित भएकाप्रति 'गम्भीर चासो' व्यक्त गरेका छन्।
उनले सम्बन्धित पक्षहरूलाई कोरियाली प्राय:द्वीपलाई शान्तिपूर्ण तरिकाले निरस्त्रीकरण गर्न सम्वाद कायम राख्न आह्वान गरेका छन्।