तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मानसरोवर तीर्थयात्रा: नेपालमा लाखौँ खर्चिन्छन् भारतीय
नेपाल हुँदै चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको यात्रामा जाने प्रत्येक भारतीय तीर्थयात्रीले एक लाख रुपैयाँभन्दा बढी रकम नेपालमा नै खर्च गर्ने गरेको उक्त यात्रा संयोजन गर्ने व्यवसायीहरूले जनाएका छन्।
नेपालको बाटो हुँदै जाने भारतीय तीर्थयात्रीहरुको संख्या बर्सेनि बढ्दै गएको र यसबाट पश्चिम क्षेत्रमा होटल तथा पर्यटनका अन्य क्षेत्रमा रोजगारीको विकास भएको त्यस क्षेत्रका व्यवसायीहरूको भनाइ छ।
अवसर
हवाई उडानलाई व्यवस्थित गर्दै हुम्लाको हिल्सासम्मको सडकलाई विस्तार गर्न सके अझै धेरै भारतीय तीर्थयात्रीहरू बढ्न सक्ने बताइएको छ।
तातोपानी नाका भूकम्पपछि बन्द भएसँगै कैलाश मानसरोवर जाने यात्रीहरू हुम्ला भएर जाने गरेका छन्।
पाँच महिनासम्म चल्ने मानसरोवर यात्रामा हुम्ला भएर जानेको संख्या सुरुवाती दिनमा न्यून रहेपनि गत वर्ष बढेर १२ हजार पुगेको थियो।
हालसम्मका विवरणहरू अनुसार यस वर्ष उक्त संख्या १४ हजारको हाराहारी पुग्ने अनुमान गरिएको छ।
विगतमा काठमाण्डू आएर सिधै तातोपानी हुँदै जाने गरेका भारतीय तीर्थयात्रीहरू अचेल हुम्ला भएर आवतजावत गर्दा कम्तीमा छ दिन नेपालमा बिताउने गर्छन्।
र, उनीहरूले छ पटक आन्तरिक हवाई उडान प्रयोग गर्ने गरेको बताइएको छ।
जसबाट उनीहरूको कुल खर्चमध्येको आधाभन्दा बढी भाग नेपालमै रहने गरेको भनाइ व्यवसायीहरूको छ।
त्यस्तैमध्येका एक राजाराम तिवारीले भने, "नेपाल सरकारले ९० डलर राजस्व पाउँछ। हेलिकप्टर, प्लेन र होटलको खर्च गरेर करिब १ लाख १० हजार रुपैयाँ यहीँ खर्च हुन्छ।"
कति दिन कहाँ?
काठमाण्डूमा एक रात बिताउने गरेका उनीहरूले नेपालगञ्जसम्मको उडान प्रयोग गर्ने र एकरात नेपालगञ्ज वा सुर्खेतमा बिताउने गरेका छन्।
अर्को दिन हुम्ला सदरमुकामसम्म हवाईजहाजमा जाने र एकरात त्यहीँ बिताएर अर्को दिन हेलिकप्टरमा हिल्सासम्म जाने गर्दछन्।
फर्किँदा पनि त्यसरी नै उनीहरूले होटल र उडान प्रयोग गर्ने गर्दछन्।
मानसरोवर जाने यात्रीहरूको व्यवस्थापनको काम गर्ने अधिकांश एजेन्सीहरूले हुम्ला भएर जाँदा नेपालमा हुने गरेको खर्च बढेको बताएका छन्।
नेपालगञ्ज र सुर्खेतमा मानसरोवर जाने यात्रीहरूलाई ध्यानमा राखेर बर्सेनि सुविधासम्पन्न होटलहरू खोल्ने होड नै चलेको छ।
हुम्लामा चहलपहल
विगतमा चारवटा मात्रै होटल भएको र छिटपुट मात्रै उडान हुने गरेको हुम्लामा मानसरोवर जाने यात्रीको चाप बढेसँगै होटलको संख्या बढेर २४ पुगेको छ भने हवाईजहाज र हेलिकप्टरले हुम्ला विमानस्थल भरिने गरेको छ।
मानसरोवर यात्रीका कारण हुम्लामा धेरै क्षेत्रमा फरक परेको होटल व्यवसायी संघ हुम्लाका अध्यक्ष मिमबहादुर तामाङको भनाइ छ।
उनले भने, "अध्यागमनले पाउने राजस्वमध्ये ३३ प्रतिशत हुम्लालाई आउँछ। होटल चलेका छन्। त्यस्तै अन्य व्यापार व्यवसाय पनि बढेको छ। नयाँ नयाँ टोलको निर्माण सुरु भएसँगै मजदुरहरुले काम पाएका छन्। स्थानीय तरकारी, दही, दूधको विक्री बढेको छ।"
भारतीय तीर्थयात्रीको संख्या बढेपनि सडक संरचना तथा हवाई यातायात व्यवस्थित हुन नसक्दा पर्याप्त फाइदा लिन नसकिएको कतिपयको ठम्याइ पाइन्छ।
कर्णालीको सम्भावना
उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीले भने, "हवाई यातायातको सुविधा अझै बढाएमा र यो प्रदेशबाट मानसरोवर जाने सडक निर्माण भएमा पर्यटनका माध्यमबाट रोजगारी र आम्दानी अझै बढ्छ।"
निर्माणाधीन हिल्सा-सिमिकोट सडक र सुर्खेत-हुम्ला सडक निर्माणको काम बेलैमा सकिए मानसरोवर जाने तीर्थयात्रीको संख्या अझै बढ्ने बताइएको छ।
यसपटक देखि केरुङ नाका पनि अन्तर्राष्ट्रिय नाकाका रुपमा खुल्ला गरिएको भए पनि झन्झटिलो प्रक्रियाका कारण उक्त मार्ग प्रयोग गरेर जान चाहने यात्रीको संख्या भने न्यून रहेको जनाइएको छ।