मन्त्रीहरूको सम्पत्ति: कोसँग कति

प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा हाल उनीसहित १८ जना मन्त्री तथा चार राज्यमन्त्री छन्।

सरकारको नेतृत्व सम्हालेको करिब तीन महिनापश्चात् मन्त्रीहरूले बुझाएका आ-आफ्नो सम्पत्ति विवरण मन्त्रिपरिषद्को आधिकारिक वेबसाइटमा राखिएको छ।

उनीहरूले घरजग्गा, शेयर, ब्यांक निक्षेप तथा सुनचाँदी जस्ता सम्पत्तिको विवरण दिएका छन्।

ती विवरण सर्सर्ती हेर्दा कोही मन्त्री करोडपति त कोही सामान्य आर्थिक हैसियतका देखिन्छन्।

ती विवरणमा उल्लेख भए बमोजिम केही मन्त्रीको सम्पत्ति यसप्रकार देखिन्छ:

प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्रीले आफ्नो नाममा ४२ लाख रुपैयाँ ब्यांक मौज्दात रहेको र त्यो तलबभत्ताबाट आर्जन भएको उल्लेख गरेका छन्।

त्योबाहेक नेपाल राष्ट्र ब्यांककी पूर्वअधिकृत श्रीमती राधिका शाक्यको नाममा ठाउँठाउँमा घर जग्गा रहेको विवरणमा उल्लेख छ।

ईश्वर पोखरेल, रक्षामन्त्री

पोखरेलले आफू तथा श्रीमती मिरा पोखरेलको नाममा ठाउँठाउँमा घरजग्गा रहेको उल्लेख गरेका छन्।

त्यस्तै आफ्नो नाममा सात लाख अनि श्रीमतीको नाममा अरू ब्यांक मौज्दात रहेको तथा घर बनाउन तीस लाख ऋण लिएको पनि उल्लेख गरिएको छ।

रामबहादुर थापा, गृहमन्त्री

थापाले श्रीमती नैनकला थापाको नाममा चितवनमा केही घरजग्गा रहेको उल्लेख गरेका छन् भने तीन लाख रुपैयाँ नगद साझेदारीमा चलाइएको रेस्टुरेन्टबाट प्राप्त आम्दानीका रूपमा उल्लेख गरेका छन्।

उनले पशुधनको रूपमा दुईवटा कुकुर रहेको र ती छिमेकीबाट प्राप्त भएको जनाएका छन्।

रघुवीर महासेठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री

महासेठले आफू र श्रीमती जुलीकुमारी महतोको नाममा ललितपुर, सिन्धुली तथा धनुषा जिल्लाका ठाउँठाउँमा घरजग्गा रहेको उल्लेख गरेका छन्।

उनले नगद ७२ लाख रुपैयाँ रहेको तथा ५२ तोला सुन रहेको विवरणमा राखेका छन्।

त्यसबाहेक विभिन्न ब्यांकमा खाता रहेको जनाइएको छ तर त्यसमा कति रकम भनी खुलाइएको छैन।

श्रीमतीको नाममा करौडौँको शेयर रहेको उल्लेख छ।

ती सम्पत्तिको स्रोतको रूपमा ऋण, सहयोग, सापटी र पैतृक सम्पत्ति रहेको बताइएको छ। उनले करोडौँको ऋण रहेको पनि उल्लेख गरेका छन्।

लालबाबु पण्डित, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

पण्डितले आफू र श्रीमती बिमला पण्डितको नाममा केही घरजग्गा रहेको उल्लेख गरेका छन्।

त्यस्तै आफू र श्रीमतीको गरी ५५ लाखको ब्यांक मौज्दात रहेको विवरणमा उल्लेख छ।

उनले सम्पत्तिको रूपमा एउटा पुरानो साइकल रहेको समेत जनाएका छन्।

थममाया थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

थापाले आमाबाट प्राप्त जग्गा म्याग्दीको बेनीमा रहेको उल्लेख गरेकी छन्।

उनले आफूसँग १ तोला सुन रहेको र केही हजार ब्यांक मौज्दात रहेको जनाएकी छन्।

युवराज खतिवडा, अर्थमन्त्री

खतिवडाले आफू र श्रीमती कमला खतिवडाको नाममा काठमाण्डू, भक्तपुर, झापा लगायत ठाउँठाउँमा घर जग्गा रहेको उल्लेख गरेका छन्।

विभिन्न ब्यांक तथा सहकारी संस्थामा लाखौँ रुपैयाँ मौज्दात समेत छ।

उनले पाँच लाख रुपैयाँ बराबरको शेयर आफ्नो नाममा रहेको पनि उल्लेख गरेका छन्।

सम्पत्तिको स्रोतको रूपमा उनले नेपाल राष्ट्र ब्यांक, संयुक्त राष्ट्रसंघ र परामर्श सेवाबाट प्राप्त रकम भनी जनाएका छन्।

जगतबहादुर सुनार विश्वकर्मा, युवा तथा खेलकुदमन्त्री

विश्वकर्माले केही घरजग्गा अनि करिब ५० तोला गरगहना रहेको उल्लेख गरेका छन्।

उनले करिब २० लाख रुपैयाँको ब्यांक मौज्दात रहेको पनि उल्लेख गरेका छन्।

बीना मगर, खानेपानीमन्त्री

मगरले आफ्नो सम्पत्ति विवरणमा श्रीमान् प्रकाश दाहाल तथा सासू सीता दाहालको नाममा चितवनमा रहेका तीन कठ्ठा जग्गा राखेकी छन्।

सुन पाँच तोला र चाँदी १६ तोला अनि श्रीमान् प्रकाश दाहालको नाममा रहेको स्कूटर पनि उल्लेख गरेकी छन्।