पहिलो खेलबाटै सबैको वाहवाही पाउँदै सन्दीप

तस्बिर स्रोत, Delhi Daredevils
विश्व क्रिकेटमा ठूलो व्यावसायिक प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिग आईपीएलमा नेपाली खेलाडी सन्दीप लामिछानेको पहिलो खेलको प्रदर्शनको सर्वत्र प्रशंसा भइरहेको छ।
१७ वर्षीया सन्दीपले गएराति आफ्नो टोली दिल्ली डेयरडेभिल्सका तर्फबाट पहिलो म्याच खेल्ने क्रममा 'उत्कृष्ट बलिङ' गरेको टिप्पणी भएको छ।
भारतीय टिमका कप्तान विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स ब्यांग्लोरविरूद्ध मैदानमा उत्रिएका सन्दीपले कोहली र अर्का विश्व चर्चित ब्याट्सम्यान दक्षिण अफ्रिकाका एबीडी भीलीयर्सलाई बलिङ गरेका थिए।
एक विकेट लिएका सन्दीपले 'किफायती' बलिङ गरे पनि उनको टोली ६ बल बाँकी छँदै ५ विकेटले पराजित भएको छ।
मौका
प्रतियोगिताको ११ औँ संस्करणमा दिल्लीले लिलामीमा २० लाख भारु तिरेर लिएका लामिछानेले आफ्नो टोलीले १२ औँ खेल खेल्दा मौका पाएका हुन्।
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप आईपीएलमा छनोट भएको विषय राजधानीमा भएको अभिनन्दनका क्रममा चर्चा गरेकै दिन दिल्लीले उनलाई आफ्नो 'ओपनिङ बलर'का रूपमा प्रस्तुत गरेको थियो।
खेलमा उनले चार ओभर २५ रन खर्चेर एक विकेट लिएका थिए।
सन्दीपको बलिङ एशोशियट राष्ट्रबाट छनोट भएर कुनै पनि क्रिकेट खेलाडीले आइपीएलको आफ्नो पहिलो खेलमा गरेको 'उत्कृष्ट प्रदर्शन' भएको ईएसपीएन क्रिकइन्फोका खेल पत्रकार पिटर डेला पेना बताउँछन्।

तस्बिर स्रोत, Sandip Lamichhane
सन्दीपले आफ्नो पहिलो ६ बलमा ६ रन दिएका थिए भने दोस्रो ओभरमा पार्थिव पटेलको विकेट लिएका थिए।
दिल्ली डेयरडेभिल्सका पाँच बलर मध्ये उक्त खेलमा उनले सबैभन्दा कम रन दिएका थिए।
शनिवारको खेलमा 'नट आउट' ७२ रन प्रहार गरेर 'म्यान अफ द म्याच' बनेका ब्याट्सम्यान एबीडी भीलीयर्सले खेलपछि सन्दीपको मुक्तकण्ठले प्रशंसा गरेका छन्।
प्रशंसनीय
उनले भनेका छन्, "लामिछाने भर्खरै १७ वर्षका छन् र उनले प्रशंसनीय खेल देखाएका छन्। यी केटाहरूले कसरी यस्तो खेल्छन् म आश्चर्यमा पर्छु। यो भारतीय क्रिकेट र समग्र क्रिकेटका लागि ठूलो उपलब्धि हो।"
आफ्नो पहिलो खेलपछिको एउटा अन्तर्वार्तामा सन्दीपले दिल्ली डेयरडेभिल्सको टोलीमा स्थान पाएकोमा खुशी व्यक्त गर्दै विश्वका दुई अग्रणी ब्याट्समेनविरूद्ध बलिङ गर्न पाउनु आफैँमा उपलब्धि भएको बताएका छन्।
"मैले मेरा प्रशिक्षकहरूबाट धैर्य गर्न सिकिरहेको छु, अझै लामो यात्रा गर्नुपर्नेछ, टोलीका प्रशिक्षक र सबै सदस्यबाट राम्रो सहयोग पाइरहेको छु।"
सन्दीपको पहिलो खेलको प्रदर्शनलाई आईपीएलको आधिकारिक ट्विटर खातामा 'ऐतिहासिक' भनिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले पनि उनलाई आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेकोमा बधाई दिएको छ।

खुसी व्यक्त गर्नेमा सन्दीपलाई अष्ट्रेलियामा लगेर अभ्यासको मौका दिने अष्ट्रेलियाको टोलीका पूर्वकप्तान माइकल क्लार्क पनि छन्।
उनले ट्विटरमा लेखेका छन्, "मेरा साथीले आइपीएलमा पहिलो पटक खेल्ने मौका पाएका छन्, उनको कथा कति रोमाञ्चक छ!"
ट्विटरमा नेपाली किक्रेट टोलीका कप्तान पारस खड्काले सन्दीपलाई शुभकामना दिँदै आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन भनेका थिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
'ठूलो क्षण'
सन्दीपले बलिङ गरिरहँदा ट्वीट गर्दै नेपाली ब्याट्सम्यान शरद भेषावकरले सन्दीपले एकदमै राम्रो शुरूवात गरेको र आफ्नो खुशी एक तहमाथि पुगेको टिप्पणी गरेका थिए।
भारतीय क्रिकेट विश्लेषक हर्ष भोग्लेले सन्दीपले विकेट लिनुलाई एउटा ठूलो क्षण भन्दै ट्वीट गरेका थिए।

तस्बिर स्रोत, Sandip Lamichhane/Twitter
सन्दीपलाई उनको पहिलो खेलका लागि शुभकामना दिनेमा सनराइजर्स हैदराबादबाट खेलिरहेका अफगान बलर राशिद खान सहितका खेलाडी छन्।
नेपाली क्रिकेट प्रशंसकहरूले पहिलो खेलमा सन्दीपले गरेको कसिलो बलिङको प्रंशसा सामाजिक सञ्जालमा गरिरहेका छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा पहिलो विकेटका लागि सन्दीपलाई बधाई दिँदै उनको सफलतामा गर्व लागेको उल्लेख गरेका छन्।
कतिपयले चाहिँ दिल्ली डेयरडेभिल्सले सन्दीपलाई पहिला नै मौका दिनुपर्ने धारणा ट्विटरमा राखिरहेका छन्।
तुलना
निकै ठूलो लगानी रहेको र विश्व क्रिकेटमा सबैभन्दा बढी दर्शकले हेर्ने भनिएको आइपीएलमा खेल्न गएको ज्यानुअरीमा सन्दीप छानिएका थिए।
यो प्रतियोगितापछि उनले वेस्ट इण्डिजका खेलाडी क्रिश गेलको क्लबबाट क्यारीबीयन लिग क्रिकेट खेल्नेछन्।
सन्दीप नेपाली राष्ट्रिय टोलीको पछिल्लो पुस्ताका सर्वाधिक चर्चित खेलाडी हुन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
उनको बलिङ गर्ने शैलीलाई अष्ट्रेलियाका चर्चित खेलाडी शेन वार्नसँग दाँज्ने गरिन्छ।
१५ वर्षको उमेरमा राष्ट्रिय टोलीमा समावेश भएका सन्दीपले हालै सम्पन्न विश्व क्रिकेट डिभिजन दुईमा १७ विकेट लिएका थिए।
त्यसपछि जिम्बाब्वेमा भएको डिभिजन १ क्रिकेटमा उनले गरेको प्रदर्शनले नेपाललाई एक दिवसीय क्रिकेट मान्यता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।
एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन जाने क्रममा चितवनको एउटा क्रिकेट एकेडेमीमा अभ्यास गरिरहेका सन्दीप राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दसानायकेको नजरमा परेका थिए।








