सन्दीपले क्रिश गेलको क्लबबाट क्यारिबियन लिग खेल्ने

सन्दिप

तस्बिर स्रोत, Sandip Lamichhane

हालै विश्व क्रिकेटको सबैभन्दा ठूलो व्यावसायिक प्रतियोगिता मानिने इन्डियन प्रिमियर लिगमा छानिएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारिबियन प्रिमियर लिगका लागि पनि छानिएका छन्।

क्यारिबियन क्षेत्रको लोकप्रिय उक्त क्रिकेट लिगका लागि उनलाई सेन्ट किट्स एण्ड नेभिस पेट्रिओट्स नामक टोलीले खरिद गरेको हो।

वेष्ट इन्डिजका विश्व चर्चित खेलाडी क्रिश गेलको नेतृत्वमा रहेको उक्त टोलीले सन्दीपलाई पाँच हजार अमेरिकी डलरमा खरिद गरेको हो।

क्यारिबियन लिग क्रिकेट टोलीमा छनोट भएकोमा आफू खुसी भएको प्रतिक्रिया लामिछानेले सामाजिक सञ्जाल ट्विटरमा दिएका छन्।

खुसी

उनले लेखेका छन्, "सेन्ट किट्स एण्ड नेभिस पेट्रिओट्सले मलाई विश्वास गरेकोमा धन्यवाद दिन चाहन्छु, साथै मेरा सबै प्रशंसक र शुभचिन्तकलाई पनि धन्यवाद भन्न चाहन्छु।"

यसअघि लामिछानेलाई गएको ज्यानुअरीमा २० लाख भारतीय रुपैयाँमा दिल्ली डेयरडेभिल्स क्लबले इन्डियन प्रिमियर लिगका लागि खरिद गरेको थियो।

सन्दिप

तस्बिर स्रोत, Twitter

उनी आइपिएलमा छनोट भएका पहिलो नेपाली खेलाडी हुन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले १७ वर्षीय लामिछानेलाई नेपाली क्रिकेट टोलीका उदाउँदा नायक भनेको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

उत्कृष्ट

हालै नामिबियामा सम्पन्न विश्व डिभिजन दुई क्रिकेटमा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका उनले १७ विकेट लिएका थिए।

उक्त प्रतियोगितामा उनले गरेको प्रदर्शनले नेपाललाई यसै महिना जिम्बाब्वेमा शुरू हुन लागेको विश्व कप क्रिकेट छनोट प्रतियोगितासम्म डोर्‍याउन सफल भएको थियो।

लेग स्पिनर लामिछानेको 'लेगब्रेक गुगली' शैली उनको विशेषता मानिन्छ ।

उनको खेल्ने तरिकालाई अष्ट्रेलियाका चर्चित खेलाडी शेन वार्नसँग दाँज्ने गरिन्छ।

सन् २०१६ मा नामिबियाको खेलबाट राष्ट्रिय टोलीमा खेल्न थालेका सन्दिपले १९ वर्ष भन्दा कम उमेर समूहको विश्वकपमा आयरल्याण्डविरुद्ध 'ह्याट्रिक' विकेट लिएर चर्चा कमाएका थिए।

अडिओ क्याप्शन सुरु हुँदैछ, विश्वकप क्रिकेट छनोटको तयारी कस्तो छ?