तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आर्मिनिया: विपक्षी नेता प्रधानमन्त्री निर्वाचित
हप्तौँ चलेका सरकारविरोधी प्रदर्शनहरूपछि आर्मिनियाका विपक्षी नेता निकोल पासिन्यानलाई संसद्ले त्यहाँको प्रधानमन्त्रीमा चुनेको छ।
लामो समयदेखि सरकारको नेतृत्व गर्दै आएको रिपब्लिकन पार्टीले उसका केही सांसदहरूलाई उनको पक्षमा मत हाल्न अनुमति दिएपछि उनले प्रधानमन्त्री बन्न आवश्यक मत प्राप्त गरेका हुन्।
दश वर्षसम्म सत्तामा रहेका सेर्ज सार्किश्यानलाई पदबाट हट्न बाध्य पार्ने गरी कैयौँ हप्तासम्म चलेको सरकारविरोधी प्रदर्शनहरूको नेतृत्व पासिन्यान गरेका थिए।
गत हप्ता भएको त्यस्तै प्रकारको मतदानमा सत्ताधारी रिपब्लिकन पार्टीले उनलाई प्रधानमन्त्री बन्नबाट रोकेको थियो।
तर यस पटक भने संसद्मा बलियो रहेको रहेको सार्किश्यानको पार्टीबाट उनले समर्थन जुटाए।
उनको पक्षमा मतदान गरिएपछि पासिन्यानका हजारौँ समर्थकहरूले राजधानी येरेभानस्थित रिपब्लिक स्क्वायरमा जम्मा भएर हर्षोल्लास गरेका थिए।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पासिन्यान प्रधानमन्त्रीमा चुनिएलगत्तै उनलाई बधाई दिए र "मैत्रीपूर्ण सम्बन्धले निरन्तरता पाउने" अपेक्षा व्यक्त गरे।
आर्मिनिया रुसको संयुक्त सुरक्षा सङ्गठनको हिस्सा हो। आर्मिनिया युरो-एसियाली आर्थिक युनियनको सदस्य पनि हो।
आर्मिनियामा एकदलीय शासनविरुद्ध भएको शान्तिपूर्ण विद्रोह र त्यहाँका नेताहरूले जुन तरिकाले प्रतिक्रिया जनाए त्यो एउटा पूर्वी रुसी गणराज्यका लागि अभूतपूर्व मानिएको छ।
रुसले आर्मिनियामा हालै भएका राजनीतिक घटनाक्रममाथि हस्तक्षेप गरेको छैन। रुससँगको सम्बन्ध र विशेषगरी सैन्य सहयोग आफ्नो प्राथमिकतामा पर्ने पासिन्यानले सांसदहरूलाई बताए।