तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जङ्गली हात्तीले रोहिंज्या शिविर किन भत्काए?
हालैका महिनामा बांग्लादेशको शरणार्थी शिविरमा जङ्गली हात्तीले गरेका आक्रमणमा १२ जना रोहिंज्या शरणार्थीहरूको ज्यान गएको छ।
अघिल्लो वर्षको अगष्ट महिनायता म्यानमारबाट विस्थापित भएर आएका ७ लाख भन्दा बढी रोहिंज्याहरुका कारण बांग्लादेशमा शरणार्थी शिविरहरूको संख्या बढीरहेका छन्।
बांग्लादेशलाई हाल शरणार्थीको सबैभन्दा बढी घनत्व र जनसंख्या भएको देशका रुपमा लिइन्छ।
त्यहाँ जङ्गली हात्तीहरूले कतिपय शरणार्थी शिविरका दर्जनौं घर भत्काइदिएका छन्।
मृत्यु
केहि समय पहिले हात्तीले किचेर रोहिंज्या शरणार्थी मोहना अराले आफ्ना १० वर्षे छोरा फोयासलाई गुमाइन्।
उनले बीबीसीलाई भनिन्, "मेले मेरो छोरालाई 'विद्यालय जाउ' भनेकी थिए तर उ खेल्न गयो। उसको दाईले उसलाई देखेर विद्यालय पठायो तर बाट्टैमा हात्तीको आक्रमणमा परि उसले ज्यान गुमायो।"
"मेरा सन्तान नै मेरा खुसीका स्रोत हुन् तर अहिले मैले मेरो प्यारो छोरा गुमाएकी छु," उनले रुँदै भनिन्।
जानकारहरूका अनुसार कतिपय शरणार्थी शिविर शताब्दीऔँ देखि हात्तीहरूले प्रयोग गर्ने प्राकृतिक मार्गमा बनाइएकाले पछिल्लो समस्या आएको बताउँछन्।
कारण
आफ्नो प्राकृतिक बाटोमा भएको मानवअतिक्रमणले हात्तीहरु अल्मलिएका र डराएका कारण यस्ता घटना भएको उनीहरूको मत पाइन्छ।
अहिलेसम्म कुनै पनि जङ्गली हात्ती हताहत भएको विवरण भने आएका छैनन्।
यसैबीच संयुक्त राष्ट्रसंघले हात्तीहरूको निगरानी गर्न अग्ला मचान निर्माण गर्ने र शिविर भित्र प्रवेश गर्ने हात्तीहरूलाई बाहिर निकाल्ने उपायबारे शरणार्थीहरूलाई तालिम दिइरहेको छ।
अघिल्लो महिना उखियामा रहेको शरणार्थीमा राष्ट्रसंघको शरणार्थी हेर्ने निकाय युएनएचसिआर र आइयुसीएनले नक्कली हात्तीको आकृति सहितको सहयोग लिएर यस्तो तालिम दिएका थिए।
राष्ट्रसंघले यस्ता अभ्यासले शरणार्थी र हात्तीहरू दुवैलाई जोगिन मद्दत गर्ने विश्वास गरेको छ।