तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के होला कोरियाली शिखर बैठकमा?
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले उत्तर कोरियाली नेता किम जङ अन लाई दुई देशको सीमाक्षेत्रमा शुक्रवार स्थानीय समय अनुसार साढे नौ बजे भेट्दै छन्।
उक्त ऐतिहासिक शिखर सम्मेलन, उत्तरको परमाणु अस्त्र त्याग्न सक्ने हालै उसले देखाएका संकेतमा केन्द्रीत हुनेछ।
यसबीच किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच जुन को पहिलो साता हुने भनिएको वार्ता निश्चित नभइसकेको ट्रम्पले बताएका छन्।
कठिन
शिखर वार्ताका लागि छानिएको सीमास्थल मा आउने क्रममा उत्तर कोरियाली नेता किम ले सेनाको विभाजन रेखा पार गर्ने छन् तर उनी दुई देशीय सीमास्थित सैनिक उपस्थिति नरहेको क्षेत्रमै रहने छन्।
सोलले उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र प्रविधि धेरै उन्नत भएकाले प्योङयाङलाई परमाणु हतियार मुक्त पार्ने सहमतिमा पुग्न कठिन हुने बताएको छ।
उक्त वार्ता पछि अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीच पनि वार्ता हुने ठानिंदै गर्दा बिहीवार ट्रम्पले किमसँगको उनको वार्ता अझै निश्चित नभइसकेको बताएका छन्।
सुधार
दक्षिण कोरियाका राष्ट्रपतिका प्रवक्ता इम जङ सोक ले भने कठिन पाटो भनेको परमाणु निसस्त्रीकरणबारे दुबै नेताहरू कुन तहको सम्झौतामा पुग्छन् भन्ने नै रहेको बताए।
सन् २००० र २००७ जस्तै तेस्रो पटक हुन लागेको यस्तो प्रकारको वार्ता दुबै कोरियाबीचको सम्बन्धमा महिनौदेखि भइरहेको सुधारको नतीजा हो।
किमले गत हप्ता केही समयका लागि परमाणु परीक्षण स्थगित गर्ने घोषणा गरेका थिए।
अमेरिका र दक्षिण कोरियाले सकारात्मक कदम भन्दै उक्त निर्णयको स्वागत गरेका थिए।
अपेक्षा
यद्यपि चिनियाँ अनुसन्धानकार्ताहरूले चाहिं चट्टान खसेका कारण उत्तर कोरियाले परमाणु परीक्षण गर्दै आएको स्थल काम नलाग्ने भएको संकेत गरेका छन्।
दुई नेताहरूले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न सन् १९५०-५३ को कोरियाली युद्धको औपचारिक रुपमै अन्त भएको घोषणा गर्नेबारे कुराकानी गर्ने ठानिएको छ।
साथै आर्थिक र सामाजिक मुद्दामा पनि छलफल गर्ने अपेक्षा गरिएको छ।
दक्षिण कोरिया र अमेरिकाले शिखर सम्मेलनका क्रममा संयुक्त सैनिक अभ्यास एक दिनका निम्ति स्थगित गरेको जनाएका छन्।
उक्त शिखर सम्मेलनको समयतालिका विस्तृत रुपमा तयार पारिएको बताइएको छ।