तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किमसँग सीआइए प्रमुखले भेटेको ट्रम्पद्वारा पुष्टि
अमेरिकी गुप्तचर निकाय सीआइए का प्रमुख माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ-अनसँग गत हप्ता भेटेको पुष्टि गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेटले दुईजना बीच राम्रो सम्बन्ध स्थापना भएको बताएका छन्।
उनले अमेरिकी र उत्तर कोरियाली नेताबीच हुने भनिएको शिखर वार्ताका लागि तयारीहरु भइरहेको पनि बताए।
त्यस्तो शिखर वार्ता जून महिनाको सुरुतिर हुन सक्नेछ।
आकस्मिक
सञ्चारमाध्यममा प्योङयोङमा गोप्य भेट भएको भनी आएका विवरण पुष्टि गर्दै ट्रम्पले उक्त भेट राम्रो भएको बताए।
उक्त आकस्मिक भेट सन् २००० यता अमेरिका र उत्तर कोरियाबीच भएको सबैभन्दा उच्चस्तरीय भनिएको छ।
दक्षिण कोरियाले पनि कोरियाली प्रायद्वीपमा जारी लामो समयदेखिको तनावबारे औपचारिक समाधान खोज्ने संकेत दिएको छ।
किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनबीच अर्को हप्ता भेट हुँदैछ।
यसअघि अमेरिकी राष्ट्रपतिले दक्षिण र उत्तर कोरियाबीचको वार्तामा, सन् १९५० देखि १९५३ मा भएको कोरियाली युद्धलाई औपचारिक रुपमा समाप्त भएको घोषणा गर्नेबारे शान्ति सम्झौताप्रति आफ्नो शुभेच्छा प्रकट गरेका थिए।
गोप्य
किमसँग गोप्य भेट गर्न पोम्पेओ उत्तर कोरिया भ्रमणमा गएको बारेको समाचार मंगलवार सुरुमा वासिङ्टन पोष्ट समाचारपत्रले प्रकाशन गरेको थियो।
राष्ट्रपति ट्रम्पले बर्खास्त गरिएका अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको स्थानमा पोम्पेओलाई मनोनयन गर्ने बताएपछि उक्त भ्रमण भएको स्रोतले पोष्टलाई बताएको छ।
ट्रम्प र किम शिखर वार्ताको तयारीका लागि भएको भेट बारे अन्य धेरै कम मानिसहरुलाई जानकारी थियो।
आगामी हप्ता रिपब्लिकन नियन्त्रित सिनेटले पोम्पेओको विदेशमन्त्रीको रुपमा भएको मनोनयनलाई अनुमोदन गर्ने अनुमान गरिएको छ।