तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिरिया: 'कारबाहीको विषय छलफलको क्रममा'
ट्रम्प प्रशासनले सिरियाविरुद्ध सैन्य हमला गर्नेबारे अन्तिम निर्णय भइनसकेको बताएको छ।
ह्वाइट हाउसले सिरियाको डुमा क्षेत्रमा सरकारी फौजले गरेको भनिएको रासायनिक हमलाप्रति कसरी प्रतिक्रिया जनाउने भन्नेबारे सबै विकल्पहरू छलफलको क्रममा रहेको जनाएको छ।
सिरियाको दमास्कस नजिकै गत शनिवार भएको भनिएको रासायनिक हमलाबारे प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले, सिरियालाई सघाउँदै आएको रूसलाई क्षेप्यास्त्र प्रहारका लागि तयार रहन चेतावनी दिएका छन्।
ट्वीटमार्फत दिइएको चेतावनीमा ट्रम्पले "क्षेप्यास्त्रहरू आउँदै छन्" भन्दै रुसलाई तयार रहन भनेका छन्।
छलफल
राष्ट्रपति डोनल्ड ट्रम्पकी प्रवक्ता सेराह स्यान्डर्सले ट्रम्पको भन्दा निकै तौलिएर बोलेको जस्तो सुनिन्थ्यो।
उनले ट्रम्पले डुमा हमलाका लागि सिरिया र रूसलाई जिम्मेवार ठानेको विषय दोहोर्याइन्।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियाबारे बिहीवार गोप्य छलफल गर्न लागेको छ।
धम्की
यसैबीच वरिष्ठ रुसी अधिकारीहरूले अमेरिकाले गर्ने कुनै पनि हमलाको जवाफ दिइने चेतावनी दिएका छन्।
सिरियाका राष्ट्रपति बसर अल असदको सरकारले विद्रोही नियन्त्रित क्षेत्र डुमामा कुनै रासायनिक हमला भएको भन्ने आरोप अस्वीकार गर्छ।
बुधवार गरेको एउटा ट्वीटमा ट्रम्पले सिरियाका नेतालाई उनकै शब्दमा ग्यासको प्रयोग गरी मानिसको हत्या गर्ने जनावर भनेका छन्।