तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतसँग शङ्कारहित, भरपर्दो मित्रता: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणी छिमेकी भारतसँग आफू अविश्वास र शङ्कारहित भरपर्दो मित्रताको पक्षमा रहेको बताएका छन्।
आफ्नो आसन्न भारत भ्रमणबारे संसद्लाई जानकारी दिने क्रममा ओलीले भारतको 'जायज' चासो र सरोकारमा ध्यान दिन नेपाल दृढ रहेको उल्लेख गरे।
अघिल्लो पटक प्रधानमन्त्री छँदा भारतसँग तितो सम्बन्धको विगत बोकेका ओलीले सम्बोधनको शुरुमा भारतको नाम नलिई छिमेकीहरूसँगको सम्बन्धको आधारबारे चर्चा गरेका थिए।
उनका अनुसार नेपालको छिमेकनीतिको प्रस्थानविन्दु 'मित्रता' हो र त्यो समानता, पारस्परिक सम्मान र लाभ, अहस्तक्षेप र असंलग्न आन्दोनल एवम् पञ्चशीलको सिद्धान्तका आधारमा हुनेछ।
'शिर उठाउने'
त्यसपछि भारतसँगको सम्बन्धमा आफ्नो अपेक्षा दर्शाउँदै उनले भने, "हामी शङ्कारहित, अविश्वासरहित, भरपर्दो मित्रता बनाउन र विकास गर्न चाहन्छौँ। र, यस्तो सम्बन्ध बढाउँदै लाग्ने सरकारको नीति रहेको जानकारी गराउन चाहन्छु।"
प्रधानमन्त्री ओलीले भारतसँग नयाँ सम्झौता हुने कुरा पूर्ण अस्वीकार त गरेनन् तर भ्रमणको प्राथमिकता नयाँ सम्झौतामा भन्दा पुरानाको कार्यान्वयनमा हुने जनाए।
असमान भनिएका सन्धि-सम्झौता भएका विगतका केही घटनातर्फ सङ्केत गर्दै उनले संसद्लाई आश्वस्त पार्ने प्रयास गरे।
"एउटा कुरा म भन्छु - देशलाई अप्ठेरो पर्ने, देशको शिर निहुरिने, देशले लज्जाबोध गर्नुपर्ने, देशलाई नोक्सान पर्ने कुनै काम हुँदैन, गरिँदैन। देशको शिर उठ्ने, देशलाई लाभ हुने काम मात्र गरिनेछ।"
उनले भनेको 'लाभ' के हुन्छ भन्ने प्रष्ट हुन बाँकी छ।
तर बृहत् क्षेत्रको प्रसङ्ग उठाउँदै उनले आफूले विशेष चर्चा गर्दै आएको जलमार्ग र रेलमार्ग प्राथमिकतामा रहने सुनाए।
स्मृतिमा 'तितो सम्बन्ध'
भ्रमणअघि आएको प्रधानमन्त्रीको सम्बोधन विशेषत: भारतको पनि चासोको विषय मानिन्छ।
भारतबारे प्रधानमन्त्री ओलीको भनाइ थियो, "भारतसँगको कुरा गर्दा हामीले हाम्रो मात्र होइन, भारतका पनि जायज चासो, चिन्ता, सरोकारहरूपट्टि पनि ध्यान दिन्छौँ।"
अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा भारतसँगको देखिएको तितो सम्बन्ध उनको स्मृतिमा बाँकी रहेको सङ्केत प्रधानमन्त्रीको सम्बोधनमा झल्किन्थ्यो।
दुई देशबीच निकै लामो र बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, "कहिले कहिले कसैकसैले त्यो सम्बन्धलाई बिगार्न खोज्यो भने पनि सजिलो छैन। फेरि त्यो सप्रिने ठाउँमा आइपुग्छ।"
त्यसैले धेरैले उनले ठम्याए झैँ कुन हदसम्म सम्बन्ध सप्रिएको छ भन्ने मापन ओलीको आसन्न भारत भ्रमणबाट गर्न सकिने ठानेका छन्।