पुनर्निर्माण: 'घरहरू सबल बनाउन डकर्मी तालिम'

भूकम्पपछि नयाँ घर निर्माण गर्न खर्च जुटाउन नसकेका भूकम्प पीडितहरुलाई 'रेट्रोफिटिङ' अर्थात प्रबलीकरण गर्न प्रोत्साहित गर्न भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले 'रेट्रोफिटिङ्'का लागि दक्ष डकर्मी उत्पादन गर्न लागिएको जनाएको छ।
प्राधिकरणले दातृ राष्ट्रको सहयोगमा १२ हजार डकर्मीलाई तालिम दिन लागिएको र उनीहरुलाई भूकम्प प्रभावित ३१ जिल्लामा खटाइने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले बताएका छन्।
झन्डै २५ हजार पीडितहरु घर प्रबलीकरण अर्थात 'रेट्रोफिटिङ' गर्ने सूचीमा रहेपनि त्यसका लागि आवश्यक पर्ने प्राविधिकहरू नहुँदा मर्मतको काम हुन सकेको थिएन।
त्यसैले अब १२ हजार डकर्मीलाई प्रबलीकरणबारे तालिम दिन लागिएको प्राधिकरणले जनाएको छ।
प्रबलीकरण

यसले नयाँ घर निर्माणमा सूचीकृत भएका तर रकम अभावका कारण घर बनाउन नसकेका परिवारहरू समेत कम खर्चिलो प्रबलीकरण प्रविधिका लागि सूचीकृत हुन सक्ने अपेक्षा पुनर्निर्माण प्राधिकरण छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसाल भन्छन्, "पहिला द्विविधा भएर नयाँ घर बनाउन रोजेका परिवारहरू पनि अब प्रबलीकरणमा आउन सक्ने हुनाले 'रेट्रोफिटिङ' रोज्नेहरूको संख्या दोब्बर हुनसक्छ। अझ बढी हुन सक्छ भन्ने हाम्रो अनुमान छ। प्राधिकरणको उद्देश्य बलियो घर बनोस् भन्ने हो। त्यो प्रबलीकरणबाट पनि हुनेछ। "
प्राधिकरणले तीनवटा दातृ राष्ट्रको सहयोगमा २ हजार प्राविधिक र १२ हजार डकर्मीहरुलाई दिइने तालिम ६ हप्ताको हुने बताइएको छ।
तालिम लगत्तै उनीहरूलाई भूकम्प प्रभावित ३१ जिल्लाका खटाइने छ।
तालिमको सिलसिलामा एक हजार विपन्न परिवारका घरहरू सित्तैमा निर्माण गर्न लागिएको पनि प्राधिकरणले जनाएको छ।
तर बाँकी प्राविधिकहरु नि:शुल्क उपलब्ध नहुने स्पष्ट पार्दै प्राधिकरणका प्रवक्ता यमलाल भूसालले प्रबलीकरणका लागि छानिएका पीडितहरुले तोकिएको १ लाख रुपैयाँ पाउने बताएका छन्।
रोजाइ
उनले भने, "प्रबलीकरण गर्नेले एक लाख रुपैयाँ अनुदान पाउने हो। अनुदान संझौता भएपछि पहिलो किस्ता स्वरूप ५० हजार र प्रबलीकरण सम्पन्न भइसकेपछि दोस्रो किस्तामा ५० हजार पाउने व्यवस्था हो।"
घर प्रबलीकरणका निम्ति एक लाख रुपैयाँ तथा नयाँ निर्माणका लागि ३ लाख रूपैयाँ प्राप्त हुने भएपछि कतिपयले प्रबलीकरणको सट्टा नयाँ निर्माण रोजेको अधिकारीहरू बताउँछन्।
उनीहरुले प्रबलीकरण रोजेमा नयाँ निर्माण हुने घरको संख्या घट्ने र समयमा नै घर बन्न सक्ने छ।
प्राधिकरणका अनुसार निजी घर बाहेक कतिपय अस्पताल, स्वास्थ चौकी, विद्यालय र सम्पदाहरू पनि प्रबलीकरण प्रणालीमार्फत् मर्मत भइरहेको छ।










