तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कांग्रेसमा 'व्यापक सांगठनिक परिवर्तनको तयारी'
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्न लागेको छ।
कांग्रेस केन्द्रीय समितिको बैठक बिहीवारदेखि शुरु हुँदैछ।
बैठकका प्रारम्भिक दिनमा आफूले ठूलो हार व्यहोर्नु परेको गत चुनावको समीक्षा गरिने कांग्रेसले जनाएको छ।
उक्त दलका नेताहरुका अनुसार प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहको नयाँ संरचनाअनुसारको पार्टी ढाँचा बनाउन विधान संशोधन समिति पनि गठन गर्ने छ।
छरितो
देउवा निकट कतिपय नेता त्यही समितिमार्फत पदाधिकारीको संख्या बढाउनु पर्ने पक्षमा छन्।
नेता गोपालमान श्रेष्ठ भन्छन्, "प्रदेशको नेतृत्व पनि वरिष्ठ नेतालाई दिनुपर्यो। पदाधिकारीको संख्या अपर्याप्त छ, संख्या बढाउने हो भने सबै वरिष्ठ नेता अटाउँछन्।"
महाधिवेशनअघि पदाधिकारी बढाउने तत्कालीन कार्यवाहक अध्यक्ष रामचन्द्र पौडेल पक्षको प्रयास देउवा पक्षको असहमतिका कारण विफल भएको थियो। तर अहिले पौडेल पक्ष त्यसको विपक्षमा देखिन्छ।
वरिष्ठ नेता पौडेलले भने, "पार्टीलाई संघीय संरचना अनुसारको ढाँचामा लग्न विधान संशोधन गर्ने हो। कार्यसमिति सानो-छरितो बनाउनु पर्छ, पदाधिकारी बढाउने पक्षमा हामी छैनौं।"
तयारी
त्यसमा सहमति नजुटे सभापति देउवा उपसभापति, महामन्त्री र सह-महामन्त्री नियुक्तिको प्रस्ताव गर्ने मनस्थितिमा समेत रहेको उनी निकटस्थले बताएका छन्।
नेता पौडेलले त्यसबारे सभापतिले आफूहरुसँगकै कुनै छलफल नगरेको बताए।
चुनावको मुखमा कांग्रेससँग पार्टी एकता गरेका नेता विजयकुमार गच्छदारले हालै 'आफूलाई उपसभापति बनाउन ढिलो गरेको' अभिव्यक्ति दिएका थिए।
विधान संशोधन गर्न महासमिति बैठक डाक्नु पर्नेछ।
तर पार्टीभित्र सहमति भएमा पछि अनुमोदन गर्ने गरी पदाधिकारी बढाउन सकिने बाटो रहेको देउवा पक्षको बुझाइ छ।
कांग्रेसको महाधिवेशन भएको दुई वर्ष भइसक्दा पनि पदाधिकारी मनोनयन बाँकी छ।