तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राजनीतिक दबाब सहन्न: ओली
प्रधानमन्त्री केपी ओलीले नयाँ सरकार परम्परागत ढंगले नचल्ने भन्दै उसले गर्नुपर्ने काममा राजनीतिक प्रभाव सह्य नहुने चेतावनी दिएका छन्।
मन्त्री, सचिव तथा सुरक्षा अंगका प्रमुखहरूसहितको संयुक्त बैठकलाई आइतवार सम्बोधन गर्दै उनले त्यस्तो धारणा राखेका हुन्।
उनले सरकारले राखेका लक्ष्य भेट्टाउन यो वा त्यो बहाना छाडेर काम नगरे मन्त्री तथा सचिव लगायतका उच्चसरकारी अधिकारीहरुलाई समेत कारबाही गर्ने बताए।
दबाब
वाम गठबन्धनले आफ्नो चुनावी घोषणापत्रमा गरेका कतिपय वाचा महत्त्वकाङ्क्षी रहेको टिप्पणीहरुमाझ त्यसलाई पूरा गर्नुपर्ने दबाबमा वर्तमान सरकार रहेजस्तो देखिन्छ।
सिंहदरबारको बागडोर सम्हालेयता आइतवार पहिलोपटक मन्त्री, सचिव तथा सुरक्षा अंगका उच्चअधिकारीहरूसँगको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तुतिमा त्यस्तै दबाब झल्कन्थ्यो।
उनले भने, "काम हुनुपर्यो, लक्ष्य भेट्टाउनुपर्यो। पूँजीगत खर्च भएन भन्ने होइन कारण खोजेर समाधान हुनुपर्यो। उत्पादन भएन भन्ने होइन, समाधान खोजेर बढाउनुपर्यो अनि रोजगारी सिर्जना गर्नुपर्यो"।
"हामी आफ्ना वाचा पूरा गर्नुपर्ने बाध्यात्मक अवस्थामा छौं। सबै मिलेर त्यो पूरा गर्न सक्छौं"।
कडाइको संकेत
उनले राजनीतिक दबाब वा नजिकका मानिसहरुको प्रभावमा काम भए त्यो सह्य नहुने चेतावनी समेत दिए।
प्रधानमन्त्रीले दिएको निर्देशन उल्लेख गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले भनिन्, "मन्त्री होस् वा सचिव यदि उसले कुनै राजनीतिक दबाब तथा प्रभावमा पार्न खोज्छ वा पर्छ भने त्यसलाई कारबाही हुन्छ भन्नेमा प्रधानमन्त्रीको जोड थियो"।
तर सत्तासीन दलहरुले विगतमा आफ्ना निकटवर्ती तथा नेताकार्यकर्ताको स्वार्थ अनुरुप काम गर्ने गरेको आलोचनामाझ पछिल्लो सरकारको वाचालाई पनि धेरैले शंकाकै दृष्टिबाट हेरेको पाइन्छ।
यद्यपि प्रधानमन्त्रीको आइतवारको प्रस्तुति हेर्दा उनी कडा रूपमा प्रस्तुत हुने छनक रहेको बैठकमा सहभागी कतिपय सचिवको निचोड पाइन्छ।