नेपाल विमान दुर्घटना: घाइतेसँग विवरण संकलन सुरु

घाइते विमान दुर्घटना

सोमवार काठमाण्डूमा भएको यूएस-बांग्ला एयरलाइन्सको विमान दुर्घटना के कारणले भयो भनी छानबिन गर्न बनेको आयोगले बुधवार घाइतेहरूसँग घटनाको विवरण संकलन गर्न सुरु गरेको छ।

बांग्लादेशी अधिकारीहरूसँगको समन्वयमा छानबिन गरिने नेपाली अधिकारीहरूले बताएका छन्।

दुर्घटनाग्रस्त जहाजको भग्नावशेष र दुर्घटनास्थान सुरक्षित राख्नका लागि प्रबन्ध मिलाइएको छानबिन आयोगले जनाएको छ।

आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार 'ब्ल्याक बक्स' भनिने फ्लाइट डाटा रेकर्डर सुरक्षित राखिएको छ।

"अस्पतालमा भएका बिरामीहरूको अवस्था बुझ्ने र अनुभव बताउन सक्ने अवस्थाका विरामीसँग कुरा गर्न एउटा टोली परिचालन भएको छ।"

सहयोग

बांग्लादेशको ढाकाबाट ६७ यात्रु र चार चालकदलका सदस्यसहित उडेको उक्त विमान सोमवार अपराह्ण अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गनजिकै रहेको खुल्ला चौरमा दुर्घटनाग्रस्त भएको थियो।

विमान दुर्घटना

तस्बिर स्रोत, RSS

घटना भएको देश नेपाल भएता पनि विमान दर्ता भएको र संचालन हुने देश बांग्लादेश भएको हुनाले दुवै देशले समन्वय गरेर छानबिनको काम गरिने आयोगका संयोजक यज्ञप्रसाद गौतमले बताए।

उनले भने, "सबै कुरामा हामीलाई बांग्लादेशको सहयोग चाहिन्छ। अनुसन्धान गर्दा जहाजको अवस्था, मर्मत सम्भार, विमान चालकको अनुमतिपत्रको विवरणलगायत सबै कुरा हेरिन्छ।"

विमान बनाउने कम्पनीले पनि छानबिनको खटाएको टोली बिहीवार नेपाल आइपुग्ने बताइएको छ।

मृतकका आफन्त

दुर्घटनामा परी ज्यान गुमाएका केही बांग्लादेशी नागरिकका आफन्तहरू शव हेर्न पाउने अपेक्षासहित त्रिविवि शिक्षण अस्पताल गएका थिए।

मृतकका आफन्त

तर परीक्षण नसकिएको भन्दै हेर्न नदिइएपछि उनीहरूले शव हेर्न पाउनु पर्ने माग गरेका छन्।

दुर्घटना ४९ जनाको मृत्यु भएको थियो।

मृतकको पहिचान भएपछि मात्रै शव तिनका आफन्तलाई दिइन्छ। परीक्षणको काम अझै नसकिएकाले शव हस्तान्तरण गर्ने केही समय लाग्ने बताइएको छ।

गृहमन्त्रालयका अनुसार २२ घाइते मध्ये १० जना बंगलादेशी र एक माल्दिभ्सका नागरिक हुन्। बाँकी नेपाली रहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुर्घटनाबारे घाइते महिला के भन्छिन्?