तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राष्ट्रपतिमा दुई महिलाको उम्मेदवारी
राष्ट्रपतिको निर्वाचनमा बहालवाला राष्ट्रपतिसहित दुई जना महिलाको उम्मेदवारी परेको छ।
तोकिएको समय अपराह्ण २ बजेभित्र विद्या भण्डारी र कुमारी लक्ष्मी राईले मात्रै मनोनयनपत्र दर्ता गरेको जानकारी निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले दिए।
राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुँदैछ।
अढाई वर्षअघि संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि भण्डारी एमालेको समर्थनमा देशको सर्वोच्च पदमा निर्वाचित भएकी थिइन्।
उनले बुधवार मनोनयनपत्र दर्ता गर्दा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए।
नेपालको संविधानको धारा ६२ का अनुसार संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरू रहेको निर्वाचक मण्डलले मतदानमार्फत् राष्ट्रपति छान्नेछ।
सत्तारूढ दल नेकपा एमालेले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने निर्णय गरेको थियो। उसैको समर्थनमा भण्डारी उम्मेदवार बनेकी हुन्।
एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा राखेका विवरणहरू आएका थिए।
तर मंगलवार राति अबेरसम्म चलेको स्थायी कमिटी बैठकले सर्वसम्मत रूपमा भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको थियो।
प्रतिस्पर्धा
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पूर्वसांसद राईलाई आफ्नो दलको तर्फबाट राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनाएको हो।
एमाले र नेकपा माओवादी केन्द्रसम्मिलित वाम गठबन्धनको स्पष्ट बहुमत रहेको र गणितीय हिसाबमा आफू कमजोर रहेको भए पनि नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचन सहभागी हुने निर्णय गरेको हो।
बुधवार बिहान बसेको दलको केन्द्रीय कार्यसमितिको बैठकले राईलाई प्रतिस्पर्धाका लागि अघि सार्यो।
उम्मेदवारीहरूको अन्तिम नामावली फागुन २५ गते अर्थात् निर्वाचन हुनु पाँच दिनपूर्व प्रकाशित हुनेछ।
नयाँ राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ।