‘राष्ट्रपति-उपराष्ट्रपति दोहर्‍याउने मनस्थितिमा’

नेकपा एमाले र नेकपा माओवादी केन्द्र वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहर्‍याउने मनस्थितिमा देखिएका छन्।

बीबीसीसँग कुरा गर्दै दुवै दलका अध्यक्ष निकट नेताहरुले उक्त कुरा बताएका हुन्।

संविधान जारी भएसँगै निर्वाचित भएका वर्तमान राष्ट्रपति र उपराष्ट्रपति करिब अढाई वर्ष मात्र बहाल रहने भएकाले दुवै जनालाई फेरि दोर्‍याइने चर्चा चल्दै आएको छ।

आउँदो साता बुधवार राष्ट्रपतिको उम्मेद्वारी दर्ता गर्नुपर्ने भएपनि स्पष्ट बहुमतमा रहेका वाम गठबन्धनले त्यसको निर्क्योल भने गरिसकेका छैनन्।

खनाल इच्छुक

तर प्रधानमन्त्री एवं एमाले अध्यक्ष निकट मानिने एमाले उप-महासचिव विष्णु पौडेलले भने, "औपचारिक निर्णय गरिसकेका त छैनौं तर पार्टीले बहालवाला राष्ट्रपतिलाई नै निरन्तरता दिने निर्णय गर्छ भन्ने विश्वास छ।"

एमाले पार्टीको नेतृत्व गरिसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि राष्ट्रपति बन्न इच्छुक देखिएका छन्।

तर एमालेको गैर-संस्थापन पक्षका नेताले समेत भण्डारीलाई चुनौती दिने अभिव्यक्ति दिएका छैनन्।

भण्डारीलाई नै राष्ट्रपतिमा दोहर्‍याउनु पर्ने कारणबारे नेता पौडेलको तर्क छ, "उहाँले राष्ट्रपतिको भूमिकामा रहेर प्रभावकारी कार्यसम्पादन गर्नुभयो, त्यसकारण उहाँलाई दोहर्‍याउनु मुलुकको निम्ति हितकर हुन्छ भन्ने लाग्छ।"

तर पछिल्ला दिनमा राष्ट्रपतिको भूमिका विवादमुक्त रहेन।

पाँच वर्ष थप

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते भएपछि उपराष्ट्रपति चुनाव हुने बताइएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट मानिने नेता हरिबोल गजुरेलले भने, "एमालेले राष्ट्रपति कायमै राखेमा हामीले पनि उपराष्ट्रपति कायमै राख्नुपर्छ भन्ने समझदारी भएको छ।"

दुवै दलले त्यसबारे औपचारिक निर्णय गर्न बाँकी छ।

तर दुवै दलमा अध्यक्ष पक्षसँग पार्टीभित्र बहुमत रहेको ठान्ने जानकारहरु उनीहरुको तयारीअनुसार नै पार्टीबाट औपचारिक निर्णय हुने बताउँछन्।

त्यसो भएमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन थप पाँच वर्षको निम्ति निर्वाचित हुनेछन्।