तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'सभापति देउवाविरुद्ध चुनाव लड्न सिंह तयार'
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह संसदीय दलको नेताको उम्मेद्वार बन्ने दृढता व्यक्त गरेका छन्।
आउँदो साता हुने संसदीय दलको नेताको निर्वाचनमा सभापति शेरबहादुर देउवा आकांक्षी बने पनि आफू पछि नहट्ने उनको भनाइ छ।
होली पर्वको शुभकामना आदानप्रदान भनी महामन्त्री डा. शशांक कोइरालाले आयोजना गरेको कार्यक्रममा सभापति देउवासँगै लहरै बस्नेमा देउवाका कट्टर आलोचक देखिएका नेताहरु रामचन्द्र पौडेल र प्रकाशमान सिंह पनि थिए।
तर त्यो बसाइँले मात्र उनीहरु बीचको दूरी ढाकछोप गर्न सकेन।
नेतृत्व विफल
नेतृत्व परिवर्तन गर्न आफू अघि सरेको बताउँदै नेता सिंहले भने, "परिणाम त प्रक्रियामा गएपछि नै थाहा होला। तर मैले पार्टीको आन्तरिक चुनावमा कहिल्यै हारेको छैन।"
आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्ने प्रयास गर्दा नेता सिंहले सरकार र पार्टीमा देउवाको नेतृत्व विफल भएको आरोप लगाए।
निर्वाचनमा पार्टीले बेहोरेको पराजयको प्रमुख कारण त्यही भएको उनको ठम्याइ थियो।
त्यसैले नेतृत्व परिवर्तनको प्रक्रिया संसदीय दलको नेता फेरेर शुरु गर्नुपर्ने बताउँदै नेता सिंहले भने, "अहिलेको जमानामा अवसर पाएर पनि काम गर्न नसक्ने नेतालाई राखिराख्दा पार्टीलाई हानि हुने भएकाले अब नेतृत्व परिवर्तन हुनुपर्छ।"
संसदमा मुख्य विपक्षी दलको नेताको हैसियतमा रहने संसदीय दलको नेता प्रतीक्षारत प्रधानमन्त्री मानिन्छ।
देउवाको इच्छा
आफूले निर्वाह गरेको उक्त जिम्मेवारीबारे देउवा मौन थिए।
तर कोइराला निवासमा आयोजित कार्यक्रममा उनले आफू इच्छुक रहेको अर्थ लगाउन सकिने अभिव्यक्ति दिए।
देउवा निकट नेता गोपालमान श्रेष्ठले भन्छन्, "दलको नेतामा उठ्ने त उहाँ (देउवा) नै हो। अहिले विपक्षी दलको नेता उहाँलाई नै बनाउनुपर्ने अवस्था देखिएको छ। उहाँलाई नै बनाउनु पर्छ।"
नेता गणेशमान सिंहका पुत्र प्रकाशमान कुनै बेला देउवाका विश्वास पात्रका रुपमा उनकै खेमामा थिए।
बीपी कोइरालाका पुत्र महामन्त्री शशांकले सर्वसम्मत भएमा दलको नेता बन्न तयार रहेको बताउने गरेका छन्।
नेता सिंहजस्तै उनी पनि महाधिवेशनमा रामचन्द्र पौडेल पक्षबाट उम्मेद्वार बनेका थिए।