तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिरिया: पूर्वी गुटाको स्थिति भयावह
संयुक्त राष्ट्रसंघका एक जना वरिष्ठ अधिकारीले सिरियाली द्वन्द्वमा संलग्न विश्व शक्तिराष्ट्रहरुलाई त्यहाँ लडाई अस्थाई स्थगन गर्न र मानवीय सहायता पुग्न दिन आ आफ्ना प्रभाव प्रयोग गर्न आग्रह गरेका छन्।
यान एगल्यान्डले रुस, इरान, संयुक्त राज्य अमेरिका र टर्की सबैको यसमा भूमिका रहने बताएका छन्।
अलेप्पोभन्दा खराब
एगल्यान्डले विद्रोहीको घेराबन्दीमा रहेको पूर्वी गुटा क्षेत्र अलेप्पोभन्दा धेरै किसिमले अझै नराम्रो स्थितिमा रहेको उल्लेख गरेका छन्।
करिब चार लाख नागरिकहरुलाई खाद्य आपूर्तिको आवश्यकता रहेको र चिकित्सा सुविधाहरु पूर्णरुपमा क्षतिग्रस्त भएकाले सयौंलाई तत्काल त्यहाँबाट सार्न आवश्यक रहेको एगल्यान्डले बताए।
पूर्वी गुटाका एक जना चिकित्सकले आइतवार सरकार समर्थित फौजले बमबारी तीव्र पारे यता दिनमा एक सय जनाको हाराहारीमा मानिसहरुको मृत्यु भइरहेको बीबीसीलाई बताएका छन्।
संयुक्त राष्ट्र संघले भनेको छ सिरियामा विद्रोहीको घेराबन्दीमा रहेको पूर्वी गुटा क्षेत्रको अवस्था कल्पना गरेभन्दा निकै खराब छ।
सिरियाली सेनाले उक्त क्षेत्र उसकै शब्दमा आतंकवादीबाट मुक्त गर्ने प्रयास भइरहेको बताएको छ।
आईतवार राति सरकार समर्थित फौजले विद्रोहीको कब्जामा रहेको अन्तिम प्रमुख क्षेत्रलाई पुनःप्राप्त गर्न आफ्नो प्रयासलाई तीव्र पारेको थियो।
विरोधी समर्थक गुटा मिडिया सेन्टरका पत्रकार फिरास अब्दुल्लाले उनीहरु लुक्ने ठाउँ कहीं पनि नभएको र महिला तथा बालबालिका रोएको र चिच्याएको आवाजहरु आफूहरुले सुनेको बीबीसीलाई बताएका छन्।
बर्चस्व
अधिकारीहरुका अनुसार मृत्यु हुनेमा ५० जना भन्दा बढी बालबालिका रहेका छन्। करिब एक हजार दुई सय जना मानिस घाइते भएका छन्।
राष्ट्र संघले मानवीय सहायता पुर्याउन अनुमति दिन र घाइतेलाई सार्नको लागि युद्धविराम गर्न आह्वान गरेको छ।
पूर्वी गुटामा इस्लामिवादी समूह जेस अल इस्लामको बर्चस्व छ।
तर सिरियामा अल कायदासंग विगतमा सम्बन्ध रहेको जिहादी गठबन्धन हायात तहरिर अल शाम को पनि त्यहाँ उपस्थिति छ।