क्यानाडाविरुद्ध नेपालको रोमाञ्चक जित

सनसनीपूर्ण खेलमा क्यानाडामाथि एक विकेटको जित हात पार्दै नेपाल विश्व क्रिकेट लिगको डिभिजन एकमा उक्लिएको छ।

नेपालको जितमा करण केसी अस्वाभाविक नायक बने।

४२ दशमलव १ ओभरमा नवौं विकेट गुमाइसकेको अवस्थामा खेल नेपालको हातबाट फुत्किसकेको देखिएको थियो।

त्यतिबेला नेपाललाई जितको लागि ५१ रनको जरुरी थियो। त्यस्तो बेलामा प्रवेश गरेका करण के.सीले ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४२ रन जोडेपछि खेल नेपालको पक्षमा आएको हो।

उनलाई अन्तिम ओभरसम्म साथ दिएका बलर सन्दीप लामिछानेले ५ रन बनाए।

अन्तिम ओभर

अन्तिम ओभरको ६ बलमा नेपाललाई जितको लागि ८ रन जरुरी थियो। त्यतिबेला विपक्षी बलर सेसिल परवेजले लगातार चार बल डट फालेपछि खेल फेरि पनि नेपालको लागि कठिन थियो।

तर पाँचौं बलमा करणले छक्का हानेपछि खेल एकाएक नेपालको पक्षमा फेरि ढल्कियो।

अब नेपालले अन्तिम बलमा जितको लागि २ रनको आवश्यक पर्‍यो।

त्यसै बेला दबाबमा देखिएका विपक्षी बलर परवेजले वाइड फालेपछि खेल बराबरीको स्थितिमा आयो। अब अन्तिममा एक रन आवश्यक बन्यो जसलाई नायक केसीले पूरा गरे।

ढुवा

जितसँगै नेपालले ८ अंक प्राप्त गर्दै डिभिजन एकमा बढुवा भएको मात्र हैन, सन् २०१९ मा हुने एकदिवसीय विश्वकपको छनोट खेलका लागि पनि छानिएको छ।

सो खेल अर्को महिना जिम्बाब्वे हुनेछ। त्यस्तै नेपाल अब दुई वर्षसम्म आयोजना हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप र ४ दिवसिय अन्तर-महादेशीय कप खेल्नका लागि पनि योग्य भएको छ।

फितलो

टस हारेको क्यानाडाले निर्धारित ५० ओभरमा १९४ रन बनाएको थियो। उसका लागि ओपनर श्रीमन्थ विजारत्नेले अविजित १०३ रन बनाएका थिए।

जवाफमा नेपालले शुरुवातमा फितलो प्रदर्शन गर्‍यो।

ओपनर ज्ञानेन्द्र मल्ल, कप्तान पारस खड्का र शरद भेषावकरको प्रदर्शन निकै कमजोर थियो।

तर युवा खेलाडीहरुले फेरी नेपालको पारी सम्हाले। ओपनर दिलिप नाथले ४१, आरिफ शेखले २६ र रोहित पौडेलले २७ रन बनाएर आशा जीवितै राखे । बाँकी काम अन्तिममा आएका करणले गरे।