'सहअध्यक्षको सूत्रमा एमाले-माओवादी एकता नजिक'

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रयास निष्कर्ष नजिक पुगेको दुवै दलका नेताहरुले जनाएका छन्।

माओवादी केन्द्रका एकजना नेताका अनुसार एकता महाधिवेशनसम्मका निम्ति एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवै सहअध्यक्ष रहने सांगठनिक ढाँचामा सहमतिको सम्भावना छ।

दुवै दलका अध्यक्षबीच सोमवार भएको छलफलपछि एकता प्रक्रियामा देखिएको गतिरोध खुलेको बताइएको छ।

एमाले र माओवादी केन्द्रका अध्यक्षबीचको छलफल निचोडमा पुग्नै लागेको दुवै दलका नेताले जनाए पनि एमाले नेता प्रष्ट खुलेको पाइँदैन।

तर एमाले अध्यक्ष ओलीको गृह जिल्ला झापा पुगेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले छलफल 'नयाँ उचाइमा पुगेको' टिप्पणी गरेका छन्।

प्रधानमन्त्री

पेचिलो बनेको भनिएको दुईजना अध्यक्षको भावी भूमिकाबारे नेता शर्माको भनाइ थियो, "पार्टीलाई सहअध्यक्षको अवधारणामा लैजाने कुरा अघि बढेको छ। त्यो हाम्रा नेताले रोजेको ढाँचा हो। अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको त्यही रुपमा महाधिवेशनसम्म नेतृत्व गर्ने भन्ने छ।"

यसअघि एकजना अध्यक्षले पार्टी र अर्कोले सरकारको नेतृत्व गर्ने अवधारणामा माओवादी केन्द्रका नेताको जोड देखिन्थ्यो।

उनीहरुले दुवैले दुवैमा आलोपालो गर्ने विकल्प पनि सहमतिको विन्दु हुनसक्ने बताउने गरेका थिए।

तर सहअध्यक्षको ढाँचा अपनाइएमा सरकारको नेतृत्व आलोपालो हुने वा नहुने भन्नेमा चासो पाइन्छ।

त्यसबारे माओवादी केन्द्रका नेता शर्माले पनि प्रष्ट नखुलाएरै भने, "प्रधानमन्त्री त केपी ओलीजी नै (फागुनको) पहिलो हप्ता बन्नुहुन्छ।"

जोखिम

एमाले नेताहरु भीम रावल र प्रदीप ज्ञवालीले पनि दुई अध्यक्षबीचको छलफल सहमति उन्मुख रहेको प्रतिक्रिया दिए।

तर सहमतिको विकल्पहरुबारे एमाले नेता चर्चा गर्ने पक्षमा देखिएनन्।

पार्टी एकतामा विशेष जोड दिँदै आएका एमाले उपाध्यक्ष वामदेव गौतमले भने, "उहाँहरु (अध्यक्षहरु) सँग मेरो कुरा भएको छैन। पार्टी एकता हुन्छ भन्ने छ। कुराकानी धेरै राम्रो, सकारात्मक छ रे।"

केही सातायता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकता प्रयास अप्ठ्यारोमा परेको अर्थ लाग्ने खालका अभिव्यक्ति दिने गरेका थिए।

दुवै दलका अन्य कतिपय नेताले समेत चुनाव लगत्तै गर्ने भनिएको एकता प्रयासले गति लिन नसक्दा त्यो लक्ष्य जोखिममा परेको अनुभव सुनाउँथे।

तर पछिल्लो भेटवार्ताबाट त्यो जोखिम टेरेको ठानेका उनीहरु अध्यक्षद्वय ओली र प्रचण्डबीच मंगलवार फेरि हुने छलफलले त्यसबारे थप प्रष्ट पार्ने विश्वास देखिन्छ।