तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ओली-स्वराज वार्तामा दुई देशको सम्बन्धबारे चर्चा
दुई दिने भ्रमणका क्रममा बिहीवार अपरान्ह काठमाण्डू आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले चाँडै नयाँ सरकारको नेतृत्व सम्हाल्ने ठानिएका नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग भेटवार्ता गरेकी छन्।
भेटका क्रममा स्वराजले उनलाई हालैको चुनावमा प्राप्त विजयका निम्ति बधाइ दिएको अनि दुई देशबीचको विशेष सम्बन्ध अघि बढाउने बारे विस्तृत कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ट्वीटर मार्फत जानकारी दिएका छन्।
शुक्रवार स्वदेश फर्कनु अघि विदेशमन्त्री स्वराज नेतृत्वको भारतीय उच्च अधिकारीहरुको टोलीले राष्ट्रपति, प्रधानमन्त्री तथा अरु मुख्य दलका नेताहरुसंग पनि भेट्ने कार्यक्रम छ।
नेपालको संविधानलाई लिएर भारतले प्रदर्शन गरेको असन्तुष्टी तथा नाकाबन्दी ताकाबाट खासगरि नेकपा एमालेसंग उसको खस्किएको भनिएको सम्बन्ध यो भ्रमणबाट भारतले सुधार गर्न चाहेको कतिपयले लख काटेका छन्।
भ्रमणतालिका
करिब ४ बजेतिर भारतीय विमानबाट काठमाण्डू ओर्लिनु केही बेर अगाडीसम्म पनि विदेशमन्त्री स्वराजको भ्रमणतालिका र औपचारिक भेटको विस्तृत जानकारी दुवै पक्षले दिएनन्।
भारतीय विदेश मन्त्रालयले यो भ्रमणलाई नेपालको राजनीतिक नेतृत्वसंग दुई देशको विशेष सम्बन्ध तथा आपसी हितबारे कुराकानीको अवसरको रुपमा लिएको बतायो।
त्रिभुवन विमानस्थलमा ओर्लने वित्तिकै नेपाली पत्रकारहरुसंग बोल्दै विदेशमन्त्री स्वराजले आफू कुनै एजेण्डा बोकेर नभइ, उनकै शब्दमा, नेपाली मित्रहरुसंग भेट्न आइपुगेको बताएकी थिइन्।
काठमाण्डू आएकै दिन विदेशमन्त्रीको औपचारिक कुराकानी एमाले अध्यक्ष केपी ओलीसंग हुनुले स्वराजको प्राथमिकता आउँदो सरकारको नेतृत्व लिने ठानिएका नेपाली नेताहरुसंग सम्बन्ध विस्तार गर्नु रहेको झल्को दिएको कतिपय विदेश मामिलाका जानकारहरु ठान्छन्।
त्यस्तै विदेशमन्त्री स्वराजको सम्मानमा एमालेले रात्रीभोज दिनुलाई उसले भारतसंगको विग्रिएको भनिएको सम्बन्धमा न्यानोपन ल्याउन खोजेको बुझाइ पाइन्छ।
भारतीय विश्लेषकहरुले पनि ओलीसंग विगतमा भारतको तिक्त बनेको भनिएको सम्बन्धलाई सुधार गर्न, उनलाई आश्वस्त पार्न र आफू आश्वस्त हुन स्वराजको भ्रमण केन्द्रीत रहेको बताउँदै आएका छन्।
शुरुमा भएको अध्यक्ष ओलीसंगको भेटपश्चात एमाले प्रतिनिधिमण्डलसंग भेट भएको छ।
उक्त भेटको एजेण्डाबारे एमाले नेता प्रदीप ज्ञवालीले भने, "विगतमा देखा परेका कतिपय समस्याहरुलाई समाधान गर्दै दुई देशको हितलाई कसरी अघी बढाउन सकिन्छ भन्ने नै हाम्रा छलफलका विषय हुन्।"
चासो
एमालेका प्रतिनिधिमण्डलसंगको भेट लगत्तै स्वराजले तराई केन्द्रीत दलका नेताहरुसंग पनि भेट्ने कार्यक्रम रहेको छ।
उनले यी दुई भेटमा भारतले विगतमा उठाउँदै आएको नेपालको संविधान संशोधन जस्ता विषयमा के भन्लिन् भन्ने धेरैलाई चासो रहेको छ।
तर यसलाई त्यति साँघुरो घेराबाट मात्र हेर्न नहुने भारतका लागि पूर्व राजदूत तथा परराष्ट्र मामिलाका जानकार प्राध्यापक लोकराज बरालले बताए।
उनले भने, "दुई देशबीचको सम्बन्ध संधै एकैनास हुँदैन। उतार चढाव भइरहन्छन्। विगतमा खस्किएको थियो अब त्यसलाई सुधार्ने प्रयास दुवै तर्फबाट हुँदैछ।"
टोली
भारतीय विदेशमन्त्री स्वराजको टोलीमा यही सातामात्रै त्यहाँको विदेश मन्त्रालयको सचिवमा नियुक्त विजय गोखले पनि सामेल छन्।
गोखलेका पूर्ववर्ती एस जयशंकर नेपालमा संविधान घोषणा हुनु केही दिन अघि काठमाण्डू आएका थिए।
त्यतिखेर नेपाली नेताहरुलाई सो घोषणा रोक्न दबाबको शैलीमा प्रस्तुत भएको भनिएका जयशंकर त्यसयता निकै विवादमा तानिएका थिए।
सन् २०१४ मा विदेश मन्त्री नियुक्त भए यता सुष्मा स्वराजको यो सातौं नेपाल भ्रमण हो।