तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'जाँचबुझकर्ताले ट्रम्पसँग सोधपुछ गर्ने'
अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेका विशेष जाँचबुझकर्ताले अबको केही सातामा राष्ट्रपति डोनल्ड ट्रम्पसँग सोधपुछ गर्न खोजेका छन्।
वासिङ्टन पोष्ट पत्रिकाका अनुसार रोबर्ट मलरको टोलीले राष्ट्रपति ट्रम्प अथवा उनको प्रशासनका कसैले अनुसन्धानमा बाधा पुर्याउन खोजेको छ कि छैन भनेर प्रश्न गर्नेछ।
जाँचबुझ टोलीले खासगरी संघीय जाँचब्यूरोका निर्देशक जेम्स कोमीलाई पदबाट हटाउने ट्रम्प निर्णय र राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको राजीनामामा केन्द्रित भएर सोधपुछ गर्नेछ।
ह्वाइट हाउसले अनुसन्धानलाई पूर्ण रुपमा सहयोग गर्ने तर अन्तर्वार्ता कसले दिने त्यसबारे चाहिँ प्रतिक्रिया नजनाउने बताएको छ।
पुष्टि
उक्त अनुसन्धानका क्रममा अमेरिकाका महान्यायाधिवक्ता जेफ सेसन्ससँग सोधपुछ गरिको छ।
अमेरिकाको उच्च तहमा रहेका अभियोजनकर्तालाई गत साता सोधपुछ गरिएको पुष्टि न्याय मन्त्रालयले बीबीसीलाई गरेको हो।
राष्ट्रपति ट्रम्पको मन्त्रिपरिषद्लाइ गरिएको अन्तर्वार्तामा सबैभन्दा पहिला प्रश्न गरिने व्यक्ति सेसन्स भएको ठानिएको छ।
संघीय जाँचबुझ ब्यूरो (एफबीआइ)का पूर्व निर्देशक मलरले उक्त अनुसन्धानको नेतृत्व गरिरहेका छन्।
प्रयास
एफबीआइका निर्देशक जेम्स कोमीलाई गत वर्षको मे महिनामा पदबाट बर्खास्त गर्नु रुसी हस्तक्षेपको अनुसन्धानमाथि हस्तक्षेप गर्ने प्रयास थियो वा थिएन भन्नेबारे पनि यो अनुसन्धान केन्द्रित हुनेछ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार सेसन्ससँग गरिएको अन्तर्वार्ता केही घण्टा लम्बिएको थियो।
मंगलबार अबेर राष्ट्रपति ट्रम्पले आफूलाई सेसन्सको अन्तर्वार्ताबारे कुनै चासो नभएको बताएका छन्।
अमेरिकाका गुप्तचर समुदायले यसअघि नै मस्कोले राष्ट्रपति ट्रम्पलाई चुनावमा सघाउने प्रयास गरेको निष्कर्ष निकालि सकेको छ।
तर रूसले भने त्यसलाई अस्वीकार गर्दै आएको छ।